नयाँ दिल्ली । भारतले अमेरिकालाई आफ्नो ठूलो सहयोगी मुलुकका रुपमा व्याख्या गर्दै आएको छ । खासगरी पाकिस्तानसँगको तनावका बारेमा भारतले आफूसँग अमेरिकी समर्थन प्राप्त रहेको दलिल गर्दै आएको छ ।
अन्य विषयमा भारत–अमेरिका सम्बन्ध सुमधुर रहे पनि आर्थिक कारोबारमा अमेरिकाकाको एक निर्णयले भारतलाई ठूलो धक्का लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘जनरलाइज्ड अफ प्रेफरेन्सेज’ (जीएसपी) कार्यक्रमको लाभ पाउने सूचीबाट भारतलाई हटाएका छन् । सोमबार अमेरिकी संसदलाई आफ्नो निर्णयबारे उनले जानकारी गराएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो निर्णयले भारतको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । यो कार्यक्रम अन्तर्गत भारतीय उत्पादनमा अमेरिकाले कुनै प्रकारको आयात शुल्क लगाउने गरेको थिएन । यो सुविधा अनुसार भारतले ५.६ अर्ब डलर बराबरको सामान अमेरिका निर्यात गर्दै आएको थियो ।
भारतमा आम निर्वाचन नजिकिएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पको यो निर्णयले मोदी सरकारको लोकप्रियतामा पनि नकारात्मक प्रभाव पर्ने देखिन्छ । चुनावकै सेरोफेरो अर्थतन्त्रमा नकारात्मक सूचक देखा पर्न थाल्ने हो भने विपक्षी दलहरुले मोदी सरकारलाई सोही विषयलाई आधार बनाएर आलोचना गर्ने निश्चित छ । (एजेन्सी)
Comment