काठमाडौं । ‘साना किसानको सम्बृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ आगामी फागुन १६ र १७ गते साना किसान सम्मेलन हुने भएको छ ।
सम्मेलनमा १ हजार साना किसान २ सय अन्तराष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी १२ सय जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था, नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान सहकारीले आयोजना गर्ने सम्मेलनमा गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दीगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्यहरु हासिलगर्ने सम्बन्धमा १४ वटा सत्रमा २८ वटा कार्यपत्र प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन् ।
यसबाट साना किसानहरुको संस्थागत दिगो विकास, कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि, प्रशोधन, बजारीकरण तथा मूल्य श्रृङखला अभ्यास आदिको सिकाई एवं आगामी कार्य दिशा निर्धारण गर्न सहयोग पुग्ने आयोजकले बताए । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जानकारी दिएको छ ।
Comment