प्रदेश २ सरकार र प्रभु बैंकबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रदेश २ सरकार र प्रभु बैंकबीच सम्झौता



जनकपुर । प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’ अन्तर्गत सञ्चालनमा ल्याएको बेटी शिक्षा विमाको लागि प्रदेश सरकार र प्रभु बैंक बीच बुधबार सम्झौता भएको छ ।

माघ १ गतेदेखि जन्मिएका छोरीलाई प्रदेश सरकारले एक लाखको शिक्षा विमा गरिदिने घोषणा गरेअनुरुप भएको उक्त सम्झौतापत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरिप्रसाद फुयाल र प्रभु बैकका सहायक महाप्रवन्धक अशोक खड्गीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरिएको छ ।

सम्झौता प्रदेश २ का ८ जिल्लाका एक/एक वटा स्थानीय तहमा मात्र लागू हुनेछ । यो कार्यक्रम लागू भएको स्थानीय तहमा छोरी जन्मिएपछि अभिभावकले ६ महिनाभित्र आवश्यक कागजातसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिनुपर्ने छ । त्यसपछि मन्त्रालयले प्रभु बैंकमा उक्त छोरीको नाममा मुद्दति खाता खोली एक पटकमा १३ हजार ४ सय ४६ रुपैयाँ १५ पैसाका दरले रकम जम्मा गर्नेछ । यसरी जम्मा पारेको विमाको रकम २० वर्षपछि छोरीको अभिभावकले एकमुष्ट १ लाख रुपैयाँ पाउनेछन् ।

खातावालाले बीचमै पढाइ छोडेमा, २० वर्ष नपुगी विहे गरेमा वा वेपत्ता भएको प्रमाणित भएमा खाताको रकम अभिभावकले पाउने छैनन्, मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कोषमा नै फिर्ता हुनेछ ।

खातावाला छोरीको मृत्यु भएमा वा असाध्य कडा रोग लागेको प्रमाणित भएमा वा अभिभावकको मृत्यु भएमा बालिकाको शिक्षामा असर पर्ने देखिएमा मन्त्रालयको सिफारिसमा खातामा जम्मा भएको रकमको सावा व्याज प्राप्त गर्न सकिने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रकाशित : १७ माघ २०७५, बिहीबार ०८:५९