काठमाडौं । नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एटिएम सेवाको शुभारम्भ गरेको छ । संस्थाको जग्गा परिसर गौशलामा राखिएको उक्त एटीएमको उद्घाटन संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले गरे । यो एटीएम कार्ड संस्थाका सदस्यहरुलाई पुस मसान्तसम्म निःशुल्क प्रदान गरिने संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
संस्थाको यो एटीएम कार्डबाट नेपालभर एससीटी नेटवर्क प्रयोग गर्ने अन्य बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाका एटीएम काउण्टरबाट समेत रकम निकाल्न सकिने व्यवस्था गरिएको छ । नेपालका अतिरिक्त भारत र भुटानमा समेत चलाउन सकिने यो कार्ड सामान खरिद गर्दा ‘पोउस’ को रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
हाल देशका विभिन्न बैंक वित्तीय संस्थाका गरी एससीटी नेटवर्कका नेपालभर रहेका २००० भन्दा बढी एटीएम मेसिनहरु सञ्चालनमा रहेका छन् । आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री छिटो, छरितो र प्रभाकारी सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको संस्थाले जानकारी दिएको छ ।
हालै २१ औँ बार्षिकोत्सव मनाएको संस्थाले छुट्टै ‘एप’ समेत सार्बजनिक गरिसकेको छ । काठमाडौंको बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको संस्थाको इन्द्रचोकमा शाखा कार्यालय रहेको छ ।
चुक्ता पूँजी रु. ६ करोड १८ लाख ९३ हजार ८ सय रहेको संस्थाको कुल निक्षेप रु. २ अर्ब ५ करोड ८९ लाख ८५ हजार २८८ रहेको छ भने कर्जा लगानी रु. १ अर्ब २४ करोड ११ लाख ३० हजार ८१७ रहेको छ । संस्थामा जगेडा तथा अन्य कोषहरु गरी रु. १२ करोड ५८ लाख २५ हजार ७०१ रहेको छ । सञ्चालन बचत (मुनाफा) रु. ४ करोड ३३ हजार ६३४ रहेको संस्थाले आफ्ना सदस्यहरुलाई १८ प्रतिशतको दरले लाभांश दिएको छ ।
Comment