एकसय २६ खानीबाट छ हजारलाई रोजगारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एकसय २६ खानीबाट छ हजारलाई रोजगारी



काठमाडौँ ।सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ ।

सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला चालू आवको आठ महिनामा मुलुकभरका १२६ खानीबाट छ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झाले चुनढुंगा, कोइला, पत्थर, खरी, मार्बल, फलाम, टुर्मालिन, काइनाइटलगायतका खानीबाट रोजगारीको अवसर प्रदान गरिएको जानकारी दिनुभयो । चालू आवमा कूल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान ०.६ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

विभागले एकअर्ब सात करोड टन चुनढुंगा अन्वेषण भएको जनाएको छ, जसमा ५४ करोड टन प्रमाणित, ११ करोड टन अर्धप्रमाणित तथा ४२ करोड टन सम्भाव्य रहेको छ ।

चालू आवको आठ महिनामा आठ हजार ४५० टन प्रतिदिन क्षमताका १३ उद्योग सञ्चालनमा रहेको र १० वटा निर्माणाधीन अवस्थामा रहेका छन् । सिमेन्ट उद्योगको खानी क्षेत्रसम्म सडक तथा विद्युत् प्रसारण लाइन निर्माणमा सरकारले प्राथमिकता दिएकाले सिमेन्ट उद्योगको विकास तथा सञ्चालनमा उल्लेख्य सफलता भएको विभागले जनाएको छ ।

यस्तै, नवलपरासीको धौवादी फलाम खानी भण्डारको अन्वेषण कार्य अन्तिम चरणमा पुगेको, ललितपुरको फूलचोकी र रामेछापको ठोसे फलाम खानी तथा पर्वत फलाम खानी उद्योगको प्रवद्र्धन हुनुका साथै मुस्ताङमा युरेनियम अन्वेषण कार्य भइरहेको प्रवक्ता झाले बताए ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १३:११