काठमाडौं । निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आज छलफल गर्दैछ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुलाई लक्षित गरी आक्रमणले सुरक्षा व्यवस्थामै प्रश्न चिहृन उठाइरहेका बेला आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई डाकेको हो ।
निर्वाचन आयोगका आयोगका प्रवक्ता नवराज ढकालले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आयोगले आइतबार दिउँसो १ बजे छलफल गर्न लागेको जानकारी दिए ।
छलफलमा आयोगका पदाधिकारीहरुले देशको समग्र शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुका साथै उम्मेदवारको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गर्ने बताइएको छ ।
पछिल्ला केही दिनदेखि उम्मेदवारमाथि आक्रमणका प्रयासहरु भइरहेका छन् । शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो । त्यसको भोलिपल्टै शनिबार दिउँसो रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको थियो ।
Comment