एनएमबि बैंकले नगद लाभांश बाँड्न थाल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि बैंकले नगद लाभांश बाँड्न थाल्यो



काठमाडौं, ३० असार । एनएमबि बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको एक प्रतिशत नगद लाभांश असार २९ गतेदेखि वितरण थालेको छ । बैंकले २०७२ असोज ३० गतेसम्म कायम रहेको सेयरधनीलाई नगद लाभांश वितरण थालेको हो ।

एनएमबि क्यापिटलले २०७२ कात्तिक १ गतेदेखि २०७३ पुस ७ गते (साधारण सभाका लागि सेयरधनी किताब बन्द भएको मिति) सम्म सेयर किनेर कायम रहेका सेयरधनीको हकमा भने बोनसमा कर लाग्ने हुँदा सेयरधनीले नगद लाभांश फिर्ता नपाउने जनाएको छ ।

आयकर ऐन २०५८ को दफा ४७ (क) अनुसार गाभिएको मितिले दुई बर्षभित्र गाभिएको अवस्थामा कायम भएका सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको छ ।

यसअनुसार एनएमबि क्यापिटलले २०७२ असोज मसान्तसम्म कायम रहेका सेयधनीलाई २१ औं साधारणसभाले पारित गरेको एक प्रतिशत बापतको नगद रकम वितरण गर्न थालेको हो । २०७२ कात्तिक १ गतेपछि सेयरधनी बनेका सेयरधनीको बोनसमा भने कर लाग्ने हुँदा नगद लाभांश नपाउने भएका छन् ।

एनएमबि बैंकले साविकका क्लिन इनर्जी डेभलपमेन्ट बैंक, पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक र प्रुडेन्सियल फाइनान्स कम्पनीलाई गाभेर २०७२ कात्तिक १ गतेबाट एकीकृत कारोबार थालेको थियो । बैंकको एकीकृत कारोबार अगाडिदेखि नै सेयरधनी रहेका लगानीकताले मात्र कर छुट पाएका हुन् ।

बैंकको २०७३ पुस २४ गते सम्पन्न भएको बैंकको २१ औं बार्षिक साधारणसभाले १९ प्रतिशत बोनस र बोनसमा लाग्ने कर वापत एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले असार २९ गतेदेखि साउन १० गतेसम्म सेयरधनीको बर्णानुक्रम अनुसार क्रमबद्ध रुपमा एनएमबि क्यापिटल नागपोखरी नक्सालबाट नगद वितरण गर्ने भएको हो । सो समयमा नगद संकलन गर्न नसक्ने सेयरधनीले साउन ११ गतेपछि संकलन गर्न सक्नेछन् ।

नगद लाभांश आईतबारदेखि विहीबारसम्म १० बजेदेखि ३ बजेसम्म र शुक्रबार १० बजेदेखि १ बजेसम्म वितरण हुने क्यापिटलले जनाएको छ ।

 

 

प्रकाशित : ३० असार २०७४, शुक्रबार ०९:०६