जनता बैँक नेपाल र सिद्धार्थ डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैँक नेपाल र सिद्धार्थ डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु



काठमाडौं ३० असार । जनता बैँक नेपाल र सिद्धार्थ डेभलपमेन्ट बैंकको आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरु भएको छ । जनताले सिद्धार्थलाई एक्वायर गरी जनता बैंक नेपालको नामबाट एकीकृत कारोबार सुरु गरेको हो । यी दुवै बैंकलाई नेपाल राष्ट्र बैंकले असार २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २५ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो । एक्वायर पश्चात सिद्धार्थ डेभलपमेन्ट बैंकको सम्पूर्ण सम्पत्ति र दायित्व जनता बैंकले सकार्नेछ । जनताले सिद्धार्थलाई १ः१ स्वाप रेसियोमा एक्वायर गरेको हो । जनताको गत जेठ १३ र सिद्धार्थको जेठ १२ गते सम्पन्न विशेष साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गरेका थिए । एकीकृत कारोबार गर्न दुवै बैंकले बिहीबार सम्पूर्ण कारोबार बन्द गरेका थिए । चुक्ता पुँजी बढाउने क्रममा रहेको जनताले यसअघि त्रिवेणी विकास बैंकलाई मर्ज गरिसकेको छ ।
त्रिवेणी विकास बैंकलाई मर्ज गरेपछि कायम हुने चुक्ता पुँजीमा जनताले ६०% हकप्रद जारी गर्ने विशेष प्रस्ताव सातौ साधारण साभबाट पारित गरिएको थियो । तर सिदार्थलाई एक्वायर गरेपछि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुग्ने भएकाले ६०% हकप्रदलाई बैंकले रद्ध गरिसकेको छ । यसअघि जनताले मंसिर १ गतेदेखि पुस ७ गतेसम्म १ करोड ३ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यता सिद्धार्थले पनि वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म ८५ लाख १५ हजार ५.६ कित्ता (६०%) हकप्रद सेयर बिक्री गरिसकेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जनता बैंकको चुक्ता पुँजी ४ अर्ब ६४ करोड ६२ लाख ७१ हजार र सिद्धार्थ डेभलपमेन्टको १ अर्ब ४१ करोड ९१ लाख ६८ हजार रुपैयाँ छ । हकप्रद र लिलामी बिक्रीपछि भने सिद्धार्थको चुक्ता पुँजी २ अर्ब २७ करोड ६ लाख ६८ हजार १६० रुपैयाँ पुगेको छ । तेस्रो त्रैमासमा जनताले ३८ करोड १८ लाख ९१ हजार रुपैयाँ र सिद्धार्थले २८ करोड ८३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा वाणिज्य बैंकले ८ अर्ब रुपैयाँ र विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन दिएको समयसिमा सकिन लाग्दा बैंकहरु एक्वायर र मर्जमा जुटेका छन् । केही दिन अघि सार्वजनिक भएको मौद्रिक नितिमा पनि तोकिएको अवधिभित्र चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने जनाइएको छ । त्यसैले यतिबेला अधिकांस बैंक तथा वित्तीय संस्थाहरु चुक्ता पुँजी बढाउन लागिपरेका छन् । आइतबार मात्रै ग्लोबल आइएमई बैंक र रिलायबल डेभलपमेन्ट बैंक तथा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ ।

प्रकाशित : ३० असार २०७४, शुक्रबार ०५:५४