भारतले नेपाललाई दियो ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भारतले नेपाललाई दियो ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रियासँगै नेपाल–भारत विद्युत व्यापारमा थप सहजीकरण भएको छ । मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको केही समयमै भारतले विद्युत् आयात तथा निर्यातसम्बन्धी नयाँ अनुमति दिएको छ ।

भारतले मंगलबार नेपाल विद्युत् प्राधिकरणलाई हिउँदयाममा ३५० मेगावाटसम्म विद्युत् आयात गर्न र थप ५६ मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिएको छ । यससँगै नेपाल–भारतबीच विद्युत् व्यापारमा थप सहज हुनुका साथै आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतबाट आयातको अवसर विस्तार हुनु र थप विद्युत् निर्यातको अनुमति प्राप्त हुनुले नेपाल–भारत ऊर्जा व्यापारमा सकारात्मक प्रगति भएको छ । यसले हिउँदयामको आपूर्ति व्यवस्थापनसँगै नेपालको विद्युत् निर्यात क्षमता उपयोगमा समेत सहयोग पुग्ने देखिएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको छ । यो अनुमति आगामी साउन १५ गतेसम्म कायम रहनेछ ।
अनुमतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ । कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट विद्युत् आयात गर्न सकिने छ ।

हिउँदयाममा आन्तरिक विद्युत् उत्पादन घट्ने र माग उच्च रहने भएकाले आपूर्ति व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहँदै आएको छ । यसैगरी, नेपालले थप ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित उक्त विद्युत् आगामी साउन १५ गतेसम्म भारतमा निर्यात गर्न सक्नेछ । मंगलबार मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भएको भेटवार्तामा दुई देशबीचको विद्युत् व्यापार विस्तार, अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि तथा ऊर्जा निर्यातमा आवश्यक सहजीकरणका विषयमा छलफल भएको थियो ।

प्रकाशित : 17 November, 2026 4:26 pm