निर्जीवन बीमा कम्पनीको घाटा १ अर्ब २७ करोड, हिमालयन एभरेष्टलाई सबैभन्दा ठूलो नोक्सानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निर्जीवन बीमा कम्पनीको घाटा १ अर्ब २७ करोड, हिमालयन एभरेष्टलाई सबैभन्दा ठूलो नोक्सानी



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्था दबाबमा देखिएको छ। असोज मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीको कुल खुद नोक्सानी १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो नोक्सानी १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा घाटा केही घटे पनि समग्रमा निर्जीवन बीमा क्षेत्र नोक्सानीमै रहेको देखिन्छ।

पछिल्ला वर्षमा भएका प्राकृतिक विपद् तथा मानव सिर्जित घटनाले बीमा कम्पनीहरूको वित्तीय अवस्थामा असर पारेको देखिन्छ। गत वर्षको जेनजी आन्दोलनबाट सिर्जित बीमा दायित्व व्यवस्थापन गर्नुपर्ने अवस्थामा रहेका कम्पनीहरूले भदौ १० गतेको भोटेकोशी बाढीबाट थप चुनौती सामना गर्नुपरेको थियो।

पहिलो त्रैमासको वित्तीय विवरणअनुसार १४ कम्पनीमध्ये ८ वटा कम्पनी घाटामा छन्। बाँकी ६ कम्पनीमध्ये पाँचवटा कम्पनी अघिल्लो वर्ष घाटामा रहे पनि यस वर्ष नाफामा फर्किएका छन् भने एउटा कम्पनीको नाफा घटे पनि सकारात्मक अवस्थामा कायम छ।

कम्पनीगत विवरणमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी खुद नाफा कमाएको छ। कम्पनीले असोज मसान्तसम्म २८ करोड ३० लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ९ करोड ९५ लाख ९ हजार रुपैयाँ घाटामा थियो। यससँगै कम्पनीले एक वर्षको अवधिमा घाटाबाट नाफामा फर्कँदै उल्लेख्य सुधार गरेको छ।

प्रभु इन्स्योरेन्सले पनि नाफामा वृद्धि गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ थियो। यसअनुसार नाफा ५.८० प्रतिशतले बढेको हो।

शिखर इन्स्योरेन्स पनि अघिल्लो वर्षको घाटाबाट नाफामा फर्किएको छ। कम्पनीले यस वर्षको असोजसम्म ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा कम्पनी १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ घाटामा थियो।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यता, नेशनल इन्स्योरेन्सको नाफामा भने ठूलो गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ८१ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ७ लाख १ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ।

नोक्सानीमा रहेका कम्पनीमध्ये युनाइटेड अजोड इन्स्योरेन्सको घाटा ५ करोड २९ लाख ८४ हजार रुपैयाँ पुगेको छ। नेको इन्स्योरेन्स ८ करोड १८ लाख ७१ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १६ करोड १५ लाख ५६ हजार रुपैयाँ र नेपाल इन्स्योरेन्स २० करोड ४७ लाख २ हजार रुपैयाँ घाटामा रहेका छन्।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २० करोड ९८ लाख ३२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ। सानिमा जीआईसी इन्स्योरेन्सको घाटा पनि बढेर २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको घाटा २० करोड २ लाख ३ हजार रुपैयाँ थियो।

द ओरिएन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ घाटामा रहेको छ। सबैभन्दा बढी नोक्सानी भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले बेहोरेको छ। कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड ११ लाख रुपैयाँ घाटामा पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यसरी गत वर्ष नाफामा रहेका केही कम्पनी यस वर्ष घाटामा पुगेका छन् भने केही कम्पनीले घाटाबाट नाफामा फर्किएर सुधार देखाएका छन्। समग्र निर्जीवन बीमा क्षेत्रको खुद नोक्सानी भने अझै एक अर्ब रुपैयाँभन्दा माथि कायम रहेको छ।

प्रकाशित : 16 November, 2026 4:24 pm