जीवन बीमा कम्पनीले संकलन गरे ५७ अर्बभन्दा बढी बीमाशुल्क, नेपाल लाइफ पहिलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जीवन बीमा कम्पनीले संकलन गरे ५७ अर्बभन्दा बढी बीमाशुल्क, नेपाल लाइफ पहिलो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसायमा वृद्धि देखिएको छ। असोज मसान्तसम्म १४ जीवन बीमा कम्पनीले ५७ अर्बभन्दा बढी खुद बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो रकम १६.८१ प्रतिशतले बढी हो।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा यी कम्पनीहरूले ४८ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम बढेर ५७ अर्ब १४ लाख रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।

कम्पनीहरूको आर्जन तुलना गर्दा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो अग्रता कायम राखेको छ। कम्पनीले असोज मसान्तसम्म १४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो रकम १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ थियो। यसरी कम्पनीको बीमाशुल्क आर्जन १०.०८ प्रतिशतले बढेको छ।

नेशनल लाइफ इन्स्योरेन्सले भने वृद्धिदर र कुल आर्जन दुवैमा राम्रो प्रदर्शन गरेको छ। कम्पनीले ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गर्दै दोस्रो स्थान हासिल गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको आर्जन ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ थियो। एक वर्षमा यसको बीमाशुल्क आर्जन ३०.१३ प्रतिशतले बढेको हो।

तेस्रो स्थानमा रहेको एलआईसी नेपालले पहिलो त्रैमासमा ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ संकलन गरेको थियो। यसअनुसार कम्पनीको आर्जन ९.५६ प्रतिशतले बढेको छ।

हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले पनि ४ अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। हिमालयन लाइफको आर्जन ५ अर्ब ३ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा यी कम्पनीको आर्जन क्रमशः १६.४२ प्रतिशत र ६.९८ प्रतिशतले बढेको हो।

अन्य कम्पनीमध्ये सूर्यज्योति लाइफले ३ अर्ब ५४ करोड ८ लाख रुपैयाँ र एशियन लाइफले २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। सिटिजन लाइफको यस्तो आर्जन २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ रहेको छ। गत वर्षको तुलनामा यी तीन कम्पनीको आर्जन क्रमशः २१.२८ प्रतिशत, २१.३८ प्रतिशत र १६.८२ प्रतिशतले बढेको छ।

सानिमा रिलायन्स लाइफले २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ र आईएमई लाइफले २ अर्ब १८ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। त्यसैगरी प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८१ करोड ६ लाख, मेटलाइफले १ अर्ब ७८ करोड ९३ लाख र रिलायबल नेपाल लाइफले १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।

कुल बीमाशुल्क आर्जनमा नेपाल लाइफ अगाडि रहे पनि वृद्धिदरमा भने आईएमई लाइफले सबैलाई पछि पारेको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन गत वर्षको सोही अवधिको तुलनामा ४२.४५ प्रतिशतले बढेको छ। प्रभु महालक्ष्मी लाइफ ३०.३० प्रतिशत वृद्धिसहित दोस्रो स्थानमा रहँदा नेशनल लाइफको आर्जन ३०.१३ प्रतिशतले बढेको छ।

यता, सबैभन्दा कम खुद बीमाशुल्क संकलन गर्ने कम्पनी सन नेपाल लाइफ रहेको छ। कम्पनीले पहिलो त्रैमासमा १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ४ करोड १४ लाख रुपैयाँ थियो। रकमका आधारमा सबैभन्दा पछाडि रहे पनि कम्पनीको बीमाशुल्क आर्जन १९.६८ प्रतिशतले बढेको छ।

पहिलो त्रैमासको तथ्यांकले जीवन बीमा क्षेत्रमा समग्र व्यवसाय विस्तार भएको देखाएको छ। कुल बीमाशुल्क संकलनमा नेपाल लाइफको वर्चस्व कायम रहँदा वृद्धिदरका आधारमा आईएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ।

प्रकाशित : 16 November, 2026 4:17 pm