भोजपुर । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले बताए ।
‘पहाडी जिल्लामासमेत कृषिमा आधुनिकीकरण भित्रिएपछि खेतीका लागि आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ’, मगरले भने, ‘पछिल्लो समय मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको पनि माग बढेको हो ।’ उनका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेतबारीमा मिनी टिलर देखिन्छन ।
पछिल्लो समय युवा रोजगारी, शिक्षा लगायतका लागि जिल्ला बाहिर जान थालेपछि गोरु पाल्ने कृषकको संख्यामा समेत कमि आउन थालेको छ । गोरु खोज्ने तथा कहिले पालो आउँछ भनेर पर्खनु भन्दा मिनि टिलर नै अवका दिनमा सहज भएको कृषक सिताराम प्रधानको भनाई छ ।
उनले भने, ‘खेत जोत्ने गोरु पहिलाको तुलनामा पाउन छाडेकाले अहिले विकल्पकारुपमा मिनि टिलर बनेको छ ।’ मिनी टिलरका कारण अहिले खेती गर्न निकै सहज भएको कृषकहरुको धारणा छ ।
कृषकले अहिले जोत्न मिनी टिलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेसिन, धान काट्ने थ्रेसर, मकै छोडाउने क्रन थ्रेसरलगायतका आधुनिक आँैजारको प्रयोग गर्न थालेपछि यसको कारोबार बढेको सप्लार्यस मगरले बताए ।
कृषि क्षेत्रको योजनाबद्ध विकास गर्ने उद्धेश्यले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषकहरुलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्दै अनुदानमा मिनी टिलर वितरण गर्न सुरु गरेको छ ।
गाउँपालिकाले गत बर्ष मात्र तीन सय बढी मिनि टिलर बितरण गरेको थियो । थोरै समयमा धेरै काम गर्न सकिने तथा प्रयोग गर्न पनि सजिलो भएकाले कृषकलाई अनुदानमा टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गोरुले जोत्दाभन्दा मिनी टिलर हलोले जोत्दा झण्डै ७५ प्रतिशत काम छिटो हुने कृषकहरु बताउँछन । गोरुलाई जस्तो वर्षभरी पालेर राख्नु नपर्ने हुँदा मिनी टिलर जिल्लामा खेतीका लागि कृषकको रोजाइमा पर्नुका साथै प्रभावकारी बन्दै गएको छ ।





Comment