एनपीएलमा चाँदीको बल पुरस्कार, उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमले गर्ने सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनपीएलमा चाँदीको बल पुरस्कार, उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमले गर्ने सम्मान



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा खेलाडीको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्न नयाँ पुरस्कारको व्यवस्था गरिएको छ । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ उपाधिसहित चाँदीको बल प्रदान गर्ने भएको हो ।

एनपीएलमा सहभागी आठ टोलीमध्ये एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन सम्झौता गरेको छ । सोही साझेदारीअन्तर्गत ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस पुरस्कारको विशेषता भनेको एक्स्ट्रिमको प्रायोजनमा रहेका दुई टोली आमनेसामने हुँदा दुवै पक्षका उत्कृष्ट खेलाडीले पुरस्कार पाउने अवसर प्राप्त गर्नु हो । यस्तो अवस्थामा विजेता टोलीको खेलाडीलाई मात्र नभई दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ ।

प्रतियोगिताको पहिलो खेलसँगै यो पुरस्कार वितरणको सुरुवात पनि भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भएको खेलमा प्रभावशाली प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।

खेलाडीको मेहनत र प्रदर्शनको कदर गर्दै उनीहरूलाई थप राम्रो खेल्न प्रेरित गर्ने उद्देश्यले यो पुरस्कार ल्याइएको हो । यसले प्रतियोगितामा व्यक्तिगत उत्कृष्टताका लागि प्रतिस्पर्धा बढाउनुका साथै खेलको रोमाञ्च थप्ने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेटमा दर्शकको आकर्षण बढिरहेको समयमा यस्ता पुरस्कारले खेलाडीको मनोबल उच्च बनाउन र समर्थकको उत्साह थप बढाउन सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

यससँगै एनपीएलको तेस्रो संस्करणमा टोलीलाई जित दिलाउने लक्ष्यका अतिरिक्त व्यक्तिगत प्रदर्शनमार्फत चाँदीको बल हासिल गर्ने अवसर पनि खेलाडीका लागि थप आकर्षण बनेको छ ।

प्रकाशित : 27 October, 2026 4:02 pm