काठमाडौं । कर्णाली प्रदेशको अर्थतन्त्रमा एकै वर्ष मिश्रित संकेत देखिएका छन् । उत्पादन र रोजगारी सिर्जनाका प्रमुख क्षेत्र कृषि, पर्यटन तथा उद्योगले अपेक्षित गति लिन नसक्दा आर्थिक गतिविधिमा चुनौती थपिएको छ । तर, बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा विस्तारसँगै घरजग्गा कारोबारबाट प्राप्त राजस्वमा भएको वृद्धिले अर्थतन्त्रका केही क्षेत्रमा चलायमानता बढेको देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको कृषि बाली उत्पादन ०.६५ प्रतिशतले घटेको छ । पर्यटन आगमनमा पनि उल्लेख्य गिरावट आएको छ । अर्कोतर्फ, बैंकमा निक्षेप २२.०३ प्रतिशत र कर्जा प्रवाह ९.७९ प्रतिशतले बढेको छ ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३१.५२ प्रतिशत रहने अनुमान गरिएको छ । सेवा क्षेत्रको योगदान ५८.४१ प्रतिशत र उद्योग क्षेत्रको योगदान १०.०७ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । समग्र आर्थिक वृद्धिदर भने २.९४ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ ।
कृषि क्षेत्रमा उत्पादनको चुनौती
कर्णालीको अर्थतन्त्रको मुख्य आधार मानिने कृषि क्षेत्रमा समग्र उत्पादन घटे पनि खाद्य, नगदे तथा अन्य बालीको उत्पादनमा भने सुधार देखिएको छ । यस्ता बालीको उत्पादन ३.५५ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।
धानखेतीको क्षेत्रफल २.९४ प्रतिशतले घटे पनि मकै, गहुँ, कोदो, जौ र फापरको उत्पादनमा वृद्धि भएको छ । विशेषगरी जौको उत्पादन १३.७४ प्रतिशतले बढेको छ । धानको उत्पादन ६.७६ प्रतिशत, गहुँको २.५० प्रतिशत र मकैको ०.२५ प्रतिशतले बढेको छ ।
तरकारी तथा बागबानी बालीको उत्पादन ३.७६ प्रतिशत र फलफूल उत्पादन ४.०५ प्रतिशतले घटेको छ । कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा कुल कर्जाको ७.२७ प्रतिशत मात्रै छ ।
पर्यटक आगमन घट्दा पर्यटन व्यवसाय प्रभावित
कर्णालीको पर्यटन क्षेत्र पनि समीक्षा वर्षमा दबाबमा परेको छ । अघिल्लो वर्ष ३० हजार ६४७ पर्यटकले भ्रमण गरेको प्रदेशमा समीक्षा वर्षमा यो संख्या घटेर २२ हजार १६३ पुगेको छ । पर्यटक आगमनमा २७.६८ प्रतिशतको गिरावट आएको हो ।
छिमेकी मुलुकबाट आउने पर्यटकको संख्यामा अझ ठूलो गिरावट देखिएको छ । भारतबाट आउने पर्यटक ४६.३९ प्रतिशतले घटेर २ हजार ६२८ पुगेका छन् भने चीनबाट आउने पर्यटक ६७.६० प्रतिशतले घटेर ४९९ मा सीमित भएका छन् ।
पर्यटक घटेसँगै होटल क्षेत्रमा प्रत्यक्ष रोजगारी पनि ५.१८ प्रतिशतले घटेको छ । नमुना छनोटमा परेका होटलमा रोजगारी पाउनेको संख्या १९३ बाट घटेर १८३ मा झरेको छ ।
प्रतिवेदनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रम घट्नु तथा हवाई इन्धनलगायत पेट्रोलियम पदार्थको मूल्य बढ्नुलाई पर्यटक आगमन घट्नुका सम्भावित कारणका रूपमा उल्लेख गरेको छ ।
उद्योगको क्षमता उपयोग ३१ प्रतिशतभन्दा कम
कर्णालीको औद्योगिक क्षेत्रले पनि पूर्ण क्षमतामा काम गर्न सकेको देखिँदैन । समीक्षा वर्षमा नमुना उद्योगहरूको औसत क्षमता उपयोग ३०.९८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो क्षमता उपयोग ३९.१२ प्रतिशत थियो ।
उद्योगमध्ये राडीपाखी उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ६६.६७ प्रतिशत क्षमता उपयोग गरेका छन् । प्रशोधित दूध उत्पादन गर्ने उद्योगको क्षमता उपयोग भने १०.१९ प्रतिशत मात्रै रहेको छ ।
यद्यपि औद्योगिक क्षेत्रमा बैंक कर्जा विस्तार भएको छ । २०८३ असार मसान्तसम्म औद्योगिक कर्जा २५.६३ प्रतिशतले बढेर ५ अर्ब ७ करोड ४० लाख रुपैयाँ पुगेको छ । औद्योगिक कर्जाको सबैभन्दा ठूलो हिस्सा सुर्खेतमा केन्द्रित छ । सुर्खेतमा मात्रै २ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
वैदेशिक रोजगारीमा निर्भरता कायमै
प्रदेशभित्र कृषि, पर्यटन र उद्योग क्षेत्रमा अपेक्षित रोजगारी सिर्जना हुन नसकेको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असार मसान्तसम्म कर्णालीबाट ३० हजार ४९० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसले प्रदेशभित्रै पर्याप्त रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नु चुनौतीपूर्ण रहेको संकेत गर्छ ।
घरजग्गा कारोबारमा भने उत्साहजनक वृद्धि
उत्पादनमूलक क्षेत्र कमजोर देखिए पनि घरजग्गा कारोबारबाट सरकारी राजस्व संकलनमा उल्लेख्य सुधार आएको छ ।
समीक्षा वर्षमा प्रदेशभर घरजग्गा रजिस्ट्रेसन संख्या ८.३० प्रतिशतले बढेर १८ हजार ७३४ पुगेको छ । यसबाट प्राप्त राजस्व भने ७२.०४ प्रतिशतले वृद्धि भएर ५७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो राजस्व ३३ करोड ६० लाख रुपैयाँ थियो ।
घरजग्गा कारोबारमा आएको यो वृद्धिले प्रदेशमा सम्पत्ति किनबेचसम्बन्धी आर्थिक गतिविधि विस्तार भएको देखाउँछ ।
बैंकिङ क्षेत्रमा बढ्यो निक्षेप र कर्जा
कर्णालीको वित्तीय क्षेत्रमा भने विस्तारको क्रम देखिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप २२.०३ प्रतिशतले बढेर १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, कुल कर्जा प्रवाह ९.७९ प्रतिशतले बढेर ६६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । प्रदेशको कर्जा–निक्षेप अनुपात ६०.१५ प्रतिशत रहेको छ ।
कुल कर्जामध्ये सेवा क्षेत्रमा मात्रै ८५.२१ प्रतिशत हिस्सा पुगेको छ । सेवा क्षेत्रमा ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा सबैभन्दा बढी २९ अर्ब ४८ करोड रुपैयाँ उपभोग क्षेत्रमा गएको छ ।
यातायात क्षेत्रमा पनि विस्तार देखिएको छ । नयाँ सवारीसाधन दर्ता २०.६० प्रतिशतले बढेर ४ हजार ७८९ पुगेको छ ।
आर्थिक वृद्धिभन्दा उत्पादन र रोजगारी मुख्य चुनौती
कर्णालीको आर्थिक परिदृश्यले एउटा स्पष्ट विरोधाभास देखाएको छ । बैंकिङ कारोबार, घरजग्गा र सवारीसाधन दर्ताजस्ता क्षेत्रमा गतिविधि बढे पनि कृषि उत्पादन, पर्यटन आगमन र औद्योगिक क्षमता उपयोगमा सुधार आउन सकेको छैन ।
प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा ठूलो भए पनि कृषि उत्पादनमा आएको गिरावट र उद्योगको न्यून क्षमता उपयोगले स्थानीय उत्पादन तथा रोजगारी विस्तारको अवस्थामाथि प्रश्न उठाएको छ ।
वैदेशिक रोजगारीमा जानेको ठूलो संख्या, पर्यटन व्यवसायमा घट्दो रोजगारी र उद्योगको कमजोर उत्पादन क्षमताले कर्णालीमा आर्थिक गतिविधि बढ्नु मात्रै पर्याप्त नहुने देखाएको छ । प्रदेशको दिगो आर्थिक विकासका लागि उत्पादनमूलक क्षेत्रमा लगानी, स्थानीय रोजगारी सिर्जना र पर्यटन पूर्वाधारको प्रभावकारी उपयोग आवश्यक देखिन्छ ।





Comment