काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा र अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको ३ महिनामा बैकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३१.१३ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ५ करोड रुपैयाँ पुर्याएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैकको नाफा ४५ करोड ४२ लाख रहेको थियो ।
बैंकको नाफामा आएको वृद्धिसँगै प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल तथा प्रतिसेयर वितरणयोग्य नाफामा समेत सुधार देखिएको छ । त्यस्तै, निक्षेप संकलन र कर्जा प्रवाह बढेको छ भने खराब कर्जाको अनुपात घटेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्षको पहिलो त्रैमासमा १३ रुपैयाँ १५ पैसा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ । यससँगै प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसाले वृद्धि भएको छ ।
त्यसैगरी, बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ७.६८ प्रतिशत रहेको आरओई चालु आर्थिक वर्षको समीक्षा अवधिमा १५.६० प्रतिशत पुगेको हो । यसले बैंकले शेयरधनीको स्वपुँजीबाट आर्जन गर्ने प्रतिफलमा सुधार आएको देखाउँछ ।
बैंकको प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि उकालो लागेको छ । गत वर्षको सोही अवधिमा १९ रुपैयाँ २७ पैसा रहेको यस्तो नाफा बढेर २७ रुपैयाँ ५८ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.८४ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपमा भएको वृद्धिले बैंकको स्रोत परिचालन क्षमता विस्तार भएको देखिन्छ ।
यसैगरी, बैंकको खुद कर्जा तथा सापटी प्रवाह १.६९ प्रतिशतले वृद्धि भई २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । निक्षेपको तुलनामा कर्जा विस्तारको वृद्धि भने न्यून रहेको छ ।
बैंकको अर्को सकारात्मक पक्ष खराब कर्जामा आएको गिरावट हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात (ग्रस एनपीए) चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर २.८६ प्रतिशतमा सीमित भएको छ । एक वर्षको अवधिमा खराब कर्जा अनुपात १.०५ प्रतिशत बिन्दुले घटेको हो ।





Comment