निजी क्षेत्रमा ९३ अर्ब कर्जा प्रवाह, बैंकमा निक्षेप ८३ खर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निजी क्षेत्रमा ९३ अर्ब कर्जा प्रवाह, बैंकमा निक्षेप ८३ खर्ब नाघ्यो



काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/०८४ को २ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत (९३ अर्ब ५२ करोड) ले वृद्धि भई ५९ खर्ब ५० अर्ब ५८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार यस्तो देखिएको हो ।

गत वर्षको सोहीअवधिमा यस्तो कर्जा ०.९ प्रतिशत (रु.४९ अर्ब २४ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।

२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा १।७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको१.४ प्रतिशतले बढेको छ । २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.८ प्रतिशत रहेको छ । २०८२ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १५.१ प्रतिशत र ६४.३ प्रतिशत रहेको थियो ।

२०८३/८४ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको ७.३ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले बढेको छ भने वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशत, विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृति कर्जा ०.८ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत, र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको छ ।

बैंकमा निक्षेप ८३ खर्ब नाघ्यो, बचत निक्षेपको हिस्सा बढ्दा मुद्दती निक्षेप घट्यो

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.९ प्रतिशत (७२ अर्ब ८० करोड) ले वृद्धि भई ८३ खर्ब ४९ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.५ प्रतिशत (३२ अर्ब ८६ करोड) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशतले बढेकोछ ।

२०८३ भदौमसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.५ प्रतिशत, ४८.० प्रतिशत र ३४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ५.८ प्रतिशत, ३८.० प्रतिशत र ४७.९ प्रतिशत रहेको थियो ।

२०८३ भदौमसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.३ प्रतिशत रहेको छ । २०८२ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३५.२ प्रतिशत रहेको थियो ।

प्रकाशित : 15 October, 2026 5:03 pm