बुडोल साकोसको वित्तीय अवस्था बलियो, सदस्यलाई लाभांश र सामाजिक सुरक्षा सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बुडोल साकोसको वित्तीय अवस्था बलियो, सदस्यलाई लाभांश र सामाजिक सुरक्षा सुविधा



  • काठमाडौं । काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। एकाइ बैठकबाट भएका निर्णयलाई एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणीकरण सभाले पारित गरेसँगै संस्थाको साधारण सभा सम्पन्न भएको हो।

संस्थाले असोज २४ गते एकै समयमा चारवटा एकाइ बैठक आयोजना गरी समान कार्यसूचीमा छलफल गरेको थियो। ती बैठकमा कुल सदस्य सङ्ख्याको ५९.४२ प्रतिशत उपस्थिति रहेको संस्थाले जनाएको छ।

संस्थाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३ करोड ३४ लाख ९९ हजार ६९७ रुपैयाँ सञ्चालन मुनाफा भएको छ। सोही अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब २६ करोड ६६ लाख ९४ हजार ७९९ रुपैयाँ पुगेको छ।

त्यस्तै, संस्थामा सदस्यहरूको बचत १ अर्ब ८८ करोड ३५ लाख ९७ हजार ३१० रुपैयाँ, शेयर पुँजी १४ करोड ५५ लाख २ हजार ९०० रुपैयाँ र संस्थागत पुँजी १९ करोड ८६ लाख ३७ हजार ८२ रुपैयाँ रहेको छ। संस्थाले लगानी गरेको ऋण १ अर्ब २८ करोड ४७ लाख ८८ हजार ५२० रुपैयाँ रहेको जनाएको छ।

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सदस्यहरूलाई ६ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै, संरक्षित पुँजी फिर्ता कोषमार्फत बचत र ऋणमा सदस्यहरूले गरेको योगदानका आधारमा दुवै शीर्षकमा २/२ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णयसमेत गरेको छ।

सदस्यको स्वास्थ्योपचारमा आर्थिक सहयोग

साधारण सभाले अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने सदस्यलाई ३ हजार रुपैयाँ स्वास्थ्योपचार सहयोग उपलब्ध गराउने व्यवस्था पारित गरेको छ। सभाबाट पारित आर्थिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि साधारण सभा सम्पन्न भएसँगै लागू हुने संस्थाले जनाएको छ।

संस्थाले यसअघि नै प्रसूति हुने महिला सदस्यलाई ६ हजार ५०० रुपैयाँ बराबरको मातृत्व सुरक्षा सहयोग, १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा तथा घातक रोग लागेका सदस्यलाई २० हजार रुपैयाँ बराबरको उपचार सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ।

त्यसैगरी, सदस्यको मृत्यु भएमा परिवारलाई काजकिरिया खर्चबापत ३० हजार रुपैयाँ र प्राकृतिक प्रकोपबाट प्रभावित सदस्यलाई २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ।

संस्थाले सदस्यहरूको समानुपातिक शेयर कायम गर्ने नीतिसहित मुनाफामा मात्र केन्द्रित नभई सदस्यहरूले विभिन्न अवस्थामा आर्थिक तथा सामाजिक सुरक्षा प्राप्त गर्न सक्ने योजनालाई प्राथमिकता दिएको जनाएको छ। सहकारीले सदस्यको बचत र ऋण कारोबारमा आधारित लाभसँगै स्वास्थ्य, दुर्घटना, मातृत्व र विपद्का अवस्थामा सहयोग पुर्‍याउने कार्यक्रमलाई समेत अघि बढाएको छ।

प्रकाशित : 15 October, 2026 1:04 pm