काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीभित्र सबै पक्षलाई समेटेर कांग्रेसलाई थप एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै खतिवडाले कांग्रेसको महाधिवेशनमा देशभरबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको र विदेशमा रहेका पार्टीका नेता–कार्यकर्ता पनि सहभागी भएको बताए ।
महाधिवेशनले युवा, बुद्धिजीवी, पूर्वप्रजातन्त्र सेनानी, महिला, दलित, जनजाति तथा पिछडिएका वर्गलगायत विभिन्न समुदायमा नयाँ उत्साह पैदा गरेको उनको भनाइ छ । उनले महाधिवेशनमा सबै पक्षको प्रतिनिधित्व सुनिश्चित गरिएको पनि बताए ।
उनले भने, ‘देशभरिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनुभएको छ । विदेशमा रहेका साथीहरू पनि आउनुभएको छ । महाधिवेशनले युवा, बुद्धिजीवी, पूर्वप्रजातन्त्र सेनानी, महिला, दलित, जनजाति तथा पिछडिएका वर्गलगायत सबैमा नयाँ उत्साह पैदा गरेको छ । कांग्रेसले सबै पक्षलाई समेटेर प्रतिनिधित्व गराउँदै अघि बढेको छ ।’
खतिवडाले विगतमा पार्टीबाट बाहिरिएका नेताहरू तथा कार्यकर्तालाई समेत कांग्रेसको नेतृत्वमा पुनः एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आग्रह गरे । प्रजातन्त्रका लागि जेल जीवन बिताएका, गोली खाएका तथा व्यक्तिगत र राजनीतिक स्वतन्त्रताका लागि योगदान दिएका नेताहरू पार्टी छाडेर अन्यत्र जान नहुने उनको धारणा थियो ।
‘गालीगलौज गरेर होइन, तितो बोलेर होइन, सबैलाई समेटेर जानुपर्छ,’ खतिवडाले भने, ‘कांग्रेसलाई मात्रै एकता गर्ने होइन, देशभरिका सबै प्रजातन्त्रवादीलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्छ ।’
उनले पार्टीलाई आगामी दिनमा पहिलो र प्रिय बनाउन सबै नेताहरू एक ठाउँमा आउनुपर्नेमा आफू विश्वस्त रहेको बताए ।
यसैबीच, खतिवडाले नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरे पनि पार्टीका नेता तथा कार्यकर्तासँगको छलफलपछि सहमहामन्त्री पदमा बस्ने निर्णय गरेको जानकारी दिए । उनले आफूलाई यस निर्णयमा पार्टीका अन्य नेताहरू तथा साथीहरूको सहयोग रहेको पनि बताए ।









Comment