काठमाडौं । लगातारको वर्षासँगै विभिन्न राजमार्गमा पहिरो गएर यातायात प्रभावित भएपछि काठमाडौं उपत्यकामा तरकारी तथा फलफूलको आपूर्ति प्रभावित भएको छ। आपूर्ति एकैदिन ८५ प्रतिशतभन्दा बढी घटेपछि कालीमाटी बजारमा अधिकांश तरकारी तथा मसलाजन्य उपजको थोक मूल्य बढेको छ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभर निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण मुख्य तथा ग्रामीण राजमार्गका विभिन्न स्थानमा पहिरो गएपछि कृषि उपज काठमाडौं भित्रिने मार्ग प्रभावित भएका हुन्।
प्रहरीका अनुसार पृथ्वी राजमार्गको धादिङ खण्डमा सात स्थानमा पहिरो गएको छ। केही ठाउँमा पहिरो पन्छाइसकिएको भए पनि केही स्थानमा हटाउने काम जारी छ। बीपी राजमार्ग र कान्तिलोकपथ भने पहिरोका कारण बन्द छन्।
काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। हेटौँडा–नौबिसे–काठमाडौं जोड्ने उक्त सडक अत्यावश्यक सामग्री काठमाडौं ल्याउनका लागि एकतर्फी रूपमा सञ्चालनमा राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सडक अवरोधको प्रत्यक्ष असर कालीमाटी फलफूल तथा तरकारी बजारमा परेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार बजारमा ६ लाख ५७ हजार ३ सय ८ किलो कृषि उपज भित्रिएको थियो। शुक्रबार भने ९७ हजार ६ सय ५१ किलो मात्रै भित्रिएको छ।
यसरी एकैदिन कृषि उपजको आपूर्ति ८५ प्रतिशतभन्दा बढीले घटेको छ। आपूर्ति घटेसँगै शुक्रबार ३६ प्रकारका विभिन्न तरकारी तथा मसलाजन्य उपजको थोक मूल्य बिहीबारको तुलनामा बढेको समितिले जनाएको छ।
सबैभन्दा ठूलो मूल्यवृद्धि हरियो धनियाँमा भएको छ। बिहीबार प्रतिकिलो औसत १ सय २५ रुपैयाँ रहेको धनियाँको थोक मूल्य शुक्रबार ३ सय २५ रुपैयाँले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ।
त्यस्तै, हरियो प्याजको मूल्य १ सय ७५ रुपैयाँबाट बढेर २ सय ७५ रुपैयाँ पुगेको छ। जिरीको साग १ सय रुपैयाँबाट १ सय ७५ रुपैयाँ र सेलरी ३ सय रुपैयाँबाट ३ सय ५० रुपैयाँ पुगेको छ।
रायोको साग ८० रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ, पालुङ्गो साग १ सयबाट १ सय १० रुपैयाँ, तोरीको साग ६५ बाट १ सय १० रुपैयाँ र सौफको साग १ सयबाट १ सय १० रुपैयाँ पुगेको छ।
दैनिक उपभोगमा आउने गोलभेँडा, काउली र बन्दाको मूल्य पनि बढेको छ। ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ तथा ठूलो भारतीय गोलभेँडा ८५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ।
सानो लोकल गोलभेँडाको मूल्य ५५ रुपैयाँबाट बढेर ६३ रुपैयाँ पुगेको छ भने टनेलको सानो गोलभेँडा ६८ रुपैयाँबाट बढेर ७५ रुपैयाँ ६३ पैसा पुगेको छ।
स्थानीय काउलीको मूल्य ९७ रुपैयाँबाट बढेर १ सय २८ रुपैयाँ पुगेको छ। लोकल बन्दा ४५ रुपैयाँबाट ६० रुपैयाँ र रातो बन्दा ४५ रुपैयाँबाट ५५ रुपैयाँ पुगेको छ।
हाइब्रीड सेतो मूला ४५ रुपैयाँबाट बढेर ५५ रुपैयाँ तथा गान्टे मूला १ सय रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ पुगेको छ।
त्यसैगरी हरियो भटमासको मूल्य १ सय १५ रुपैयाँबाट बढेर १ सय ९० रुपैयाँ पुगेको छ। तितो करेला ६४ रुपैयाँबाट ७५ रुपैयाँ, लौका ५४ रुपैयाँबाट ६५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँबाट ४५ रुपैयाँ र डल्लो हरियो फर्सी ३५ रुपैयाँबाट ५५ रुपैयाँ पुगेको छ।
लाम्चो भन्टाको मूल्य ३५ रुपैयाँबाट बढेर ४५ रुपैयाँ तथा डल्लो भन्टा ४५ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ।
मसलाजन्य उपजमा पनि मूल्य बढेको छ। लामो हरियो खुर्सानीको मूल्य बिहीबार ९५ रुपैयाँ रहेकोमा शुक्रबार २ सय ११ रुपैयाँ पुगेको छ। माछे खुर्सानी ७५ रुपैयाँबाट ९५ रुपैयाँ, अकबरे खुर्सानी ९८ रुपैयाँबाट १ सय २५ रुपैयाँ र भेंडे खुर्सानी ७५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ।
तरकारीको मूल्य बढे पनि प्रमुख फलफूलको मूल्य भने स्थिर रहेको समितिले जनाएको छ। स्याउ, केरा, अनार, मौसम र जुनारलगायत फलफूलको मूल्य बिहीबारकै दरमा कायम छ।
सडक तथा राजमार्गमा यातायात सहज नभएसम्म काठमाडौंमा कृषि उपजको आपूर्ति प्रभावित हुने देखिएको छ। आपूर्ति सहज हुन नसके थोक बजारमा बढेको मूल्यको थप असर खुद्रा बजार हुँदै उपभोक्ताको भान्सासम्म पुग्न सक्ने अवस्था देखिएको छ।









Comment