चौंथो ललितपुर साकोस समिट शुरु, सहकारीलाई उत्पादन र रोजगारीसँग जोड्न मुख्यमन्त्री थापाको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चौंथो ललितपुर साकोस समिट शुरु, सहकारीलाई उत्पादन र रोजगारीसँग जोड्न मुख्यमन्त्री थापाको आग्रह



ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सहकारी संस्थाले बचत संकलन र ऋण लगानीमा मात्र केन्द्रित नभई उत्पादन, उद्योग, व्यवसाय र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको पाँचौँ ललितपुर साकोस समिट उद्घाटन गर्दै मुख्यमन्त्री थापाले सहकारीको सिद्धान्त र मूल्यअनुसार संस्था सञ्चालन हुन नसक्दा पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिएको बताएका हुन् ।

उनले सहकारीकर्मीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको उल्लेख गर्दै संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा र बचत तान्न ब्याजदरमा गरिएको होडबाजीले पनि समस्या निम्त्याएको बताए । “सहकारीको सिद्धान्तअनुसार संस्था सञ्चालन हुन नसक्दा अहिले समस्या आएको छ,” उनले भने, “बचत तान्न ब्याजदरमा गर्ने होडबाजीले सहकारी क्षेत्रलाई थप जोखिममा पु-याएको छ ।”

मुख्यमन्त्री थापाले सहकारी संस्थालाई व्यवस्थित र जिम्मेवार ढंगले सञ्चालन गर्न सहकारी संघहरूले नियमित रूपमा तालिम, शिक्षा तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । सहकारी क्षेत्रलाई आफूले अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिएको उल्लेख गर्दै उनले संस्थाको दर्ता गर्ने तर प्रभावकारी नियमन र अनुगमन नगर्ने विगतको अभ्यासले पनि समस्या निम्त्याएको बताए ।

सहकारी क्षेत्र सुधारका लागि आवश्यक ऐन–कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ छ । सहकारी अभियानबाट प्राप्त सुझावका आधारमा बचत तथा ऋण सहकारीलाई व्यवस्थित बनाउन कानुनी सुधार आवश्यक भए त्यसका लागि आफू तयार रहेको उनले प्रतिबद्धता जनाए ।

आफू पनि सहकारी अभियानसँग जोडिएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले सहकारीमार्फत रोजगारी सिर्जना गर्दै समाजको आर्थिक रूपान्तरण गर्ने उद्देश्यले आफू यस क्षेत्रमा लागेको बताए । तर पछिल्लो समय सहकारीप्रतिको विश्वास कमजोर बनेको उनको भनाइ थियो । “सदस्यलाई विश्वास दिलाउन नसक्दासम्म सहकारी क्षेत्रलाई माथि उठाउन सकिँदैन,” उनले भने ।

उनले विगतमा धेरै सहकारीले घरजग्गालगायतका क्षेत्रमा ऋण लगानी गरेका कारण वित्तीय समस्या देखिएको बताए । अब भने सहकारीको ऋण उत्पादनशील क्षेत्र, उद्योग, व्यवसाय र रोजगारी सिर्जना हुने क्षेत्रमा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

संविधानले सहकारीलाई अर्थतन्त्रका तीन खम्बामध्ये एकका रूपमा स्वीकार गरेको स्मरण गराउँदै मुख्यमन्त्री थापाले सोही भूमिकाअनुसार सहकारीका गतिविधि अघि बढाउन आग्रह गरे । “सहकारीले संविधानले दिएको भूमिकाअनुसार उत्पादन र रोजगारी सिर्जनामा योगदान गर्नुपर्छ,” उनले भने ।

मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले सहकारी क्षेत्रको सुधार र प्रवद्र्धनमा आवश्यक सहयोग गर्ने बताए । सहकारी अभियानलाई माथि उठाउन सरकार र अभियानबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका व्यावहारिक समस्या पहिचान गरी समाधान खोज्नुपर्ने बताए ।

यसैबीच, रसुवाको भोटेकोशीमा आएको बाढीका कारण बागमती प्रदेशमा ठूलो क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापना सरकारका लागि चुनौती बनेको बताए । तीन तहका सरकार आ–आफ्नो जिम्मेवारीका साथ उद्धार तथा पुनःस्थापनामा लागिरहेको उल्लेख गर्दै उनले विपद्पछिको पुनःनिर्माणमा सहकारी क्षेत्रको समेत सहयोग अपेक्षित रहेको बताए ।

सहकारी सुधारमा आत्मसमीक्षा आवश्यक : पाठक

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेमबहादुर पाठकले ललितपुर बचत तथा ऋण सहकारी संघ बलियो भएकै कारण समिट आयोजना गर्न सम्भव भएको बताए । दुईदिने समिटबाट निस्कने निष्कर्षले मुलुकभर सहकारी अभियानलाई सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ थियो ।

सहकारी संस्थामा आवश्यक ज्ञान, वित्तीय पारदर्शिता, सक्षम सञ्चालक तथा कर्मचारी र प्रभावकारी लेखा समितिको अभावले समस्या देखिएको उनले बताए । सहकारी शिक्षा प्रत्येक सञ्चालक र सदस्यका लागि आवश्यक रहेको उल्लेख गर्दै उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

सरकारले सहकारी दर्ता गरे पनि प्रभावकारी नियमन गर्न नसक्नु समस्या भएको बताउँदै पाठकले समयअनुकूल कानुन निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । सहकारी अभियानले आफ्ना कमजोरीसमेत स्वीकार गरी सुधार गर्न सके सरकारसँगको सम्बन्ध पनि थप प्रभावकारी बन्ने उनको भनाइ थियो ।

सात विषयमा कार्यपत्र र सामूहिक छलफल

समिटमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक डा. परितोष पौडेलले बचत तथा ऋण सहकारी अभियान दर्शन र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताए । सहकारीलाई शान्ति र समृद्धिको माध्यमका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै उनले अभियानलाई निषेध गर्नेभन्दा व्यवस्थित बनाउने गरी नीति निर्माण गर्नुपर्ने धारणा राखे ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले सहकारी अभियानको सरकारसँगको नीतिगत संवाद कमजोर भएको स्वीकार गर्दै सुधारका लागि जिल्ला तहसम्म जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए । बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले सहकारीलाई अन्य वित्तीय संस्थासँग एउटै दृष्टिले हेर्न नहुने बताउँदै सहकारीसम्बन्धी कानुन निर्माणमा अभियानसँग पर्याप्त छलफल हुनुपर्ने माग गरे ।

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दीपक पनेरुले सहकारी क्षेत्रमाथि बढेको अविश्वास हटाउँदै संस्थागत सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

ललितपुर बचत संघका अध्यक्ष रामहरी बजगाईँले ललितपुरका सहकारी संस्थालाई लक्षित गरी समिट आयोजना गरिएको बताए । संघ स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले संघको वित्तीय सूचक बलियो भए पनि कानुनी व्यवस्थाका कारण बचत तथा ऋणको कारोबार क्रमशः घटाउँदै लगिएको जानकारी दिए ।

संघले संस्थाहरूलाई स्तरीकरणमार्फत बलियो बनाउने उद्देश्यले ‘अम्ब्रेला कार्यक्रम’ सञ्चालनमा ल्याएको र पहिलो वर्ष ४० संस्थालाई सहभागी गराउने लक्ष्य रहेको उनले बताए । सहकारीका समस्या दबाएर समाधान नहुने भन्दै संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकारसँग उनले आग्रह गरे ।

समिटमा करिब १५० प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधि सहभागी छन् । सहकारी क्षेत्रको ऋण असुली, राष्ट्रिय सहकारी नियमन, ऋण असुली न्यायाधिकरण तथा संघ, प्रदेश र स्थानीय तहको भूमिकालगायतका विषयमा सामूहिक छलफल हुने आयोजकले जनाएको छ ।

‘दिगो साकोस अभियान : प्रविधि रूपान्तरण र हस्तान्तरण’ भन्ने मूल विषयमा आयोजित समिट शनिबारसम्म सञ्चालन हुनेछ । समिटमा सात विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै सामूहिक छलफलका सत्र सञ्चालन हुनेछन् । कार्यक्रम संघका सचिव श्यामकृष्ण महर्जनले सञ्चालन गरेका थिए भने महिला उपाध्यक्ष लक्ष्मी शाक्यले धन्यवाद ज्ञापन गरेकी थिइन्।

प्रकाशित : 18 September, 2026 2:03 pm