क्यानभित्र कसको चल्छ आदेश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

क्यानभित्र कसको चल्छ आदेश ?



काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) भित्रको नेतृत्व विवाद अब आन्तरिक छलफलमा मात्र सीमित रहेन। संस्थाको डिजिटल प्रणाली, सचिवालय सञ्चालन र आधिकारिक पत्राचारको अधिकारलाई लिएर देखिएको विवाद प्रहरीको साइबर ब्यूरोसम्म पुगेपछि क्यानको नेतृत्व संकट थप पेचिलो बनेको छ।

विवादको एउटा पक्ष कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले महासचिव चन्द्रविलास भुर्तेलमाथि उठाएको अनुशासनसम्बन्धी प्रश्नसँग जोडिएको छ। अधिकारीले भदौ ११ गते भुर्तेलसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण मागेका थिए। स्पष्टीकरण नआएपछि भदौ १५ गते साइबर ब्यूरोमा उजुरी गरिएको अधिकारी पक्षको भनाइ छ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आन्तरिक अनुशासनको कारबाही तीव्र पार्दै जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालि (Generation Next Communications Pvt Ltd) को बिक्री विभागमा कार्यरत महासचिव चन्द्रबिलास भुर्तेललाई नियम उल्लङ्घन, प्रशासनिक सीमा नाघेको र प्रोटोकल विपरीतका गतिविधि गरेको आरोपमा कडा २४ घण्टे स्पष्टीकरण पत्र जारी गरेको हो ।

अधिकारी पक्षले क्यानका केही संस्थागत इमेल खातामा सन्देश प्राप्त गर्न सकिए पनि पठाउन नसकिने अवस्था बनाइएको र महासंघको आधिकारिक इमेलको लगइन विवरण आफूलाई उपलब्ध नगराइएको दाबी गरेको छ। यसलाई संस्थाको डिजिटल पहुँच तथा प्रशासनिक नियन्त्रणसँग जोडिएको विषयका रूपमा लिइएको छ।

उजुरीपछि साइबर ब्यूरोले भदौ २२ गते क्यान महासंघसँग प्राविधिक विवरण मागेको छ। ब्यूरोले पछिल्लो छ महिनाको लग, एक्सेस तथा आईपी लगसँगै एक वर्ष अवधिका इमेल प्रयोगकर्ताको विवरण र आवश्यक अन्य प्राविधिक सूचना उपलब्ध गराउन भनेको छ।

विवाद यतिमै रोकिएको छैन। कार्यवाहक अध्यक्ष पक्षले महासचिवले पदाधिकारी बैठक सञ्चालनसम्बन्धी निर्देशन पालना नगरेको, भदौ ४ गतेको बैठक स्थगनबारे एकतर्फी निर्णय गरेको तथा त्यसको भोलिपल्ट कुनै औपचारिक निर्णयबिना सचिवालय बन्द गरिएको आरोप लगाएको छ।

त्यस्तै, आगामी एसोसियोको साधारण सभामा सहभागी हुने तथा उम्मेदवारी दिने प्रयोजनका लागि पूर्वअध्यक्ष नवराज कुँवरको नाममा फारम भर्ने काम पनि संस्थागत निर्णयबिना गरिएको आरोप अधिकारी पक्षले लगाएको छ।

यी विषयलाई क्यानको विधानले महासचिवलाई दिएको जिम्मेवारी र अधिकारको सीमासँग जोडेर हेरिएको छ। अधिकारी पक्षले चित्तबुझ्दो स्पष्टीकरण नआए विधानको दफा ३७ (ग) र ३८ अनुसार कारबाही अघि बढाउने चेतावनी दिएको थियो।

विवादको अर्को पाटो : ‘अनधिकृत पत्राचार’ को आरोप

उता, महासचिव चन्द्रविलास भुर्तेल पक्षले भने विवादलाई अर्कै ढंगले प्रस्तुत गरेको छ। भुर्तेलको नामबाट जारी सूचनामा क्यान महासंघको नाम, लेटरहेड, छाप तथा दर्ता–चलानी नम्बर प्रयोग गरेर कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नाममा विभिन्न सरकारी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायमा पत्र पठाइएको दाबी गरिएको छ।

महासंघको आधिकारिक पत्राचार संस्थागत निर्णय र सचिवालयको निर्धारित प्रक्रियाबाट मात्र हुनुपर्ने उल्लेख गर्दै भुर्तेल पक्षले त्यसविपरीत जारी भएका पत्र तथा सूचनालाई महासंघको आधिकारिक निर्णय नमान्न आग्रह गरेको छ।

साथै, क्यानको नाम र आधिकारिक दस्तावेजको प्रयोग तत्काल रोक्न चेतावनी दिँदै पुनः यस्तो गतिविधि भए विधान र प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

भुर्तेल पक्षले क्यान महासंघको नामबाट आउने कुनै पनि पत्र वा निर्देशन कार्यान्वयन गर्नुअघि सचिवालयबाट त्यसको आधिकारिकता पुष्टि गर्न पनि सम्बन्धित निकाय तथा सदस्य संस्थालाई आग्रह गरेको छ।

यसले क्यान महासंघभित्रको विवाद केवल अध्यक्ष र महासचिवबीचको मतभेदमा सीमित नरहेको देखाएको छ। कसलाई संस्थाको तर्फबाट निर्णय गर्ने अधिकार छ, सचिवालय र डिजिटल प्रणालीमाथि कसको पहुँच रहने र कुन पत्रलाई महासंघको आधिकारिक निर्णय मान्ने भन्ने प्रश्न अहिले विवादको केन्द्रमा पुगेको छ।

अब साइबर ब्यूरोको प्राविधिक अनुसन्धान, महासंघको आन्तरिक प्रक्रिया र सम्बन्धित निकायबाट हुने निर्णयले यो विवाद कुन दिशामा जान्छ भन्ने निर्धारण गर्नेछ।

प्रकाशित : 15 September, 2026 12:33 pm