रौतहट । बाराको जितपुर सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्या घटनाको अनुसन्धान झन् जटिल र संवेदनशील बन्दै गएको छ ।
घटनाको अनुसन्धानका क्रममा लिइएको संवेदनशील बयानको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि बारा प्रहरीले आफ्नै मातहतका एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक रहेका छन् । अस्पतालको ओसीएमसी कक्षमा अनुसन्धानका क्रममा सोधिएका संवेदनशील कुराहरू एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठेको थियो ।
घटनाको चौतर्फी आलोचना भएपछि बारा प्रहरीले हवल्दार विकको संलग्नता पुष्टि गरेको हो। आफ्नै कर्मचारी दोषी पाइएपछि प्रहरीले विकमाथि आन्तरिक छानबिन र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
यसैबीच, बालिकाको बलात्कार र हत्या घटनाको मुख्य अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गर्नेको संख्या नौं पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गए राती थप एक जनालाई नियन्त्रणमा लिएसँगै हिरासतमा रहनेको संख्या नौं पुगेको हो ।
पछिल्लो पटक पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका विद्यार्थी प्रदीप खड्का रहेका छन् । घटनामा उनीहरूको भूमिका के कस्तो थियो भन्नेबारे जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको छ ।


Comment