राजेशकाजी श्रेष्ठलाई नेपाल चेम्बर अफ कमर्सद्वारा सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राजेशकाजी श्रेष्ठलाई नेपाल चेम्बर अफ कमर्सद्वारा सम्मान



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्ना सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि उनको योगदानको कदरस्वरूप चेम्बरले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले श्रेष्ठको उपलब्धिले सम्पूर्ण चेम्बर परिवारलाई गौरवान्वित बनाएको बताए । उनले नेपाल र भियतनामबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्ध विस्तारमा श्रेष्ठले सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

अग्रवालका अनुसार नेपालमा रहेका भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण गर्नुका साथै दुई देशबीचको आपसी सहयोग अभिवृद्धिमा श्रेष्ठको योगदान महत्वपूर्ण छ । उनको कूटनीतिक दक्षता र सक्रियताले चेम्बरको समेत प्रतिष्ठा बढाएको उनले बताए ।

सम्मान ग्रहण गर्दै श्रेष्ठले आफ्नो योगदानको कदर गर्दै नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेकोमा खुसी व्यक्त गरे । भियतनामको परराष्ट्र मन्त्रालयले ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत आफ्नो भूमिकाको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरेको उनले जानकारी दिए ।

महावाणिज्यदूतहरूमध्ये अग्रस्थानमा राखेर प्रदान गरिएको उक्त सम्मानले नेपाल–भियतनामबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने थप ऊर्जा मिलेको श्रेष्ठले बताए ।

श्रेष्ठले नेपाल र भियतनामबीच व्यापार तथा लगानीका अवसर विस्तार गर्न नेपाल चेम्बर अफ कमर्सले पनि विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : 24 August, 2026 1:17 pm