नागलाई दूध अर्पण गर्नु भनेको शत्रुलाई मित्र बनाउने उपाय हो : डा. चिन्तामणि योगी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागलाई दूध अर्पण गर्नु भनेको शत्रुलाई मित्र बनाउने उपाय हो : डा. चिन्तामणि योगी



काठमाडौं । श्रावण शुक्ल पक्षको पञ्चमीका दिन नागदेवताको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाउने परम्परा छ । यस दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने, दूध तथा अन्य पूजासामग्री अर्पण गर्ने परम्परा छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार नागलाई देवताको रूपमा पूजा गर्ने प्रचलन रहेपनि यसको सम्बन्ध प्रकृति, पर्यावरण र मानव–जीव सहअस्तित्वसँग समेत जोडिएको संस्कृतिविद्हरू बताउँछन् ।

संस्कृतिविद्, अध्यात्म चिन्तक एवम् शिक्षासेवी डा. चिन्तामणि योगीले नागपूजा केवल सर्पको पूजा नभई प्रकृतिको मूल शक्ति र प्रारम्भिक जीवप्रति सम्मान गर्ने नेपाली संस्कृतिको महत्वपूर्ण परम्परा भएको बताए । 

हामीसँगको कुराकानीमा उनले नेपालले नागलाई समेत सम्मान गर्न सिकाएको भन्दै नागपूजालाई मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीकका रूपमा व्याख्या गरे । दुनियाँले नेपाललाई पाखे भन्यो तर नेपाल यस्तो देश हो, जहाँ नागको पनि पूजा गर्न सिकायो । अस्तित्वलाई सम्मान गर्न सिकायो । धर्तीको पहिलो जीव नाग, जलमा पनि नाग, थलमा पनि नाग, जंगलमा पनि नाग,’ उनले भने । 

योगीका अनुसार हिन्दू दर्शनमा भगवान विष्णुको शेषनागमाथिको शयन र भगवान शिवको गलामा नागको उपस्थितिले पनि नागलाई विशेष शक्ति र अस्तित्वका रूपमा स्वीकार गरिएको देखाउँछ । भगवान विष्णु कहाँ पल्टेका छन् ? नागासन । शान्ताकारं भुजगशयनम् । भगवान शिवको पनि घाँटीमा नाग छ । त्यसैले नाग भनेको सृष्टिको प्रारम्भिक जीव र महाशक्तिको प्रतीकका रूपमा पनि बुझ्न सकिन्छ,’ उनले भने । 

उनले नेपाली संस्कृति आदिकालदेखि नै प्रकृति र जीवजन्तुप्रति सम्मान गर्ने परम्परामा आधारित रहेको बताए । नागपञ्चमीमा पूजा गरिने नागलाई धार्मिक प्रतीकसँगै प्रकृतिको एउटा महत्वपूर्ण हिस्सा मानेर संरक्षण गर्नुपर्ने उनको भनाइ छ । योगीले शास्त्रमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ प्रकारका नागको उल्लेख रहेको बताए । उनका अनुसार नागसम्बन्धी अवधारणा केवल अहिले देखिने सर्पमा सीमित नभई नाग जाति, नाग विद्या र नागलोकजस्ता विभिन्न सांस्कृतिक तथा दार्शनिक अवधारणासँग जोडिएको छ ।

काठमाडौं उपत्यकाको इतिहाससँग समेत नागको सम्बन्ध रहेको उल्लेख गर्दै उनले गुरु गोरखनाथसँग जोडिएको कथाको प्रसंग सुनाए । उनका अनुसार गोरखनाथले नागहरूलाई सम्मोहित गरेर तपस्या गरेपछि वर्षा रोकिएको र त्यसपछि उपत्यकामा पानीको अभाव भएको भन्ने सांस्कृतिक कथा प्रचलित छ ।

नागपूजाको अर्को महत्वपूर्ण पक्ष मानव र सर्पबीचको सहअस्तित्व रहेको योगी बताउँछन् । सर्पले मानिसलाई अनावश्यक रूपमा आक्रमण नगर्ने भन्दै उनले सर्पलाई देख्नेबित्तिकै मार्ने वा डराउने प्रवृत्ति त्याग्न आग्रह गरे । उनले भने, ‘तपाईंलाई नागसँग, सर्पसँग भय मान्नुपर्ने कुनै कारण छैन । कुनै पनि सर्पले त्यत्तिकै तपाईंलाई डस्दैन । तपाईंको व्यवहारले उसलाई असुरक्षा महसुस भयो भने मात्रै उसले टोक्छ । नाग आफ्नो बाटोमा, तपाईं आफ्नो बाटोमा हिँड्नुस् ।’

उनले नागपञ्चमीलाई शत्रुतालाई मित्रतामा बदल्ने दर्शनसँग समेत जोडे । नागलाई दूध चढाउने परम्परालाई उनले प्रेम, करुणा र मित्रताको प्रतीकका रूपमा व्याख्या गरे । उनले भने, ‘शत्रु मार्ने होइन, शत्रुलाई मित्र बनाउनुस् । शत्रुलाई मित्र बनाउने उपाय नै नागलाई पनि दूध अर्पण गर्ने परम्पराको एउटा सन्देश हो । दूध प्रेमको प्रतीक हो, करुणाको प्रतीक हो, मित्रताको प्रतीक हो ।’

त्यसैगरी नागपञ्चमीमा घरको मूल ढोकामा नागको चित्र टाँस्ने परम्पराले घरको सरसफाइ र स्वच्छताको सन्देश पनि दिने योगीको भनाइ छ । वर्षायाममा घर वरपर चिस्यान, ढुसी, फोहोर तथा पानी जम्ने भएकाले यस समयमा घरको विशेष सरसफाइ गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘नाग टाँस्नुभो भने अब घरको सफाइ पनि गर्नुस् । कहाँ अँध्यारो छ, कहाँ फोहोर छ, कहाँ पानी जमेको छ, कहाँ घाँस उम्रिएको छ, कहाँ चिस्यान र ढुसी बढेको छ—त्यतातिर पनि ध्यान दिनुस् ।’

उनका अनुसार नागपञ्चमीलाई घर तथा वातावरण सफा गर्ने सांस्कृतिक अवसरका रूपमा समेत लिन सकिन्छ । घर वरपरको फोहोर हटाउने, पानी जम्न नदिने तथा सर्प लुक्न सक्ने स्थान व्यवस्थापन गर्ने हो भने मानिस र सर्पबीचको अनावश्यक द्वन्द्वसमेत कम गर्न सकिने उनको धारणा छ । योगीले नागपूजाको मूल सन्देश नै प्रकृतिसँग सहअस्तित्व कायम गर्नु रहेको बताए ।

‘नागपूजाका माध्यमबाट हामीले आदि शक्ति, मूल प्रकृति शक्ति र सृष्टिको प्रारम्भिक शक्तिलाई सम्मान गरिरहेका छौँ । अहिलेका सर्पलगायत सबै जीवप्रति सम्मान र सहअस्तित्वको भाव राख्नुपर्छ,’ उनले भने ।  उनका अनुसार नागपञ्चमी धार्मिक आस्थाको पर्व मात्र नभई प्रकृतिको सम्मान, जीव संरक्षण, वातावरणीय स्वच्छता र मानव–प्रकृतिबीचको सहअस्तित्वको सन्देश दिने सांस्कृतिक पर्वका रूपमा पनि स्थापित हुँदै आएको देखिन्छ ।

प्रकाशित : 17 August, 2026 12:22 pm