काठमाडौँ । सहकारी भन्नासाथ अहिले बचत अपचलन, ऋण असुली र समस्याग्रस्त संस्थाको चित्र अगाडि आउँछ। तर, सहकारीले अर्थतन्त्र र समाजमा पुर्याएको योगदानको चर्चा भने त्यही अनुपातमा हुन सकेको छैन। यही अवस्थाप्रति प्रश्न उठाउँदै प्रतिनिधि सभा सदस्य ज्ञानु पौडेलले सहकारीलाई समस्याको दृष्टिले मात्रै हेर्ने प्रवृत्ति बदल्नुपर्ने बताएकी छन्।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३९औँ स्थापना दिवसका अवसरमा बोल्दै सांसद पौडेलले नीति निर्माण तहमा सहकारीप्रति साझा बुझाइको अभाव रहेको बताइन्। सहकारीले कुल गार्हस्थ उत्पादन, राजस्व, रोजगारी सिर्जना, महिला नेतृत्व, सीमान्तकृत समुदायको आर्थिक तथा सामाजिक परिवर्तनमा पुर्याएको योगदानलाई नीति निर्मातासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्नु अभियानकै कमजोरी भएको उनको भनाइ छ।
उनले सहकारी क्षेत्रको खराब पक्षलाई लुकाएर राम्रो पक्षको मात्रै प्रचार गर्न खोजेको होइन, तर हजारौँ संस्थाले गरिरहेका राम्रा कामलाई केही समस्याग्रस्त संस्थाको कारण ओझेलमा पार्न नहुने स्पष्ट पारिन्।
उनका अनुसार ऐन तथा नियम बनाउँदा सहकारीले गरेका सकारात्मक कामभन्दा बचत अपचलन र समस्याग्रस्त संस्थाको संख्या बढी चर्चामा आउने गरेको छ। ‘३२ हजार सहकारीमध्ये कति समस्याउन्मुख र कति समस्याग्रस्त छन् भन्ने विषयमा मात्रै चर्चा हुन्छ,’ उनले भनिन्, ‘यस्तो भ्रमलाई अभियानले चिर्न आवश्यक छ।’
तर सहकारीभित्रको समस्या सरकार र नियामकलाई मात्रै देखाएर अभियान उम्किन नमिल्ने उनको संकेत छ। कतिपय सहकारीले उद्देश्यभन्दा बाहिर गएर जथाभावी ऋण लगानी गरेका कारण समस्या आएको र विगतमा नियमनसमेत प्रभावकारी हुन नसकेको उनले बताइन्।
विशेषगरी सदस्यको बचत फिर्ता नहुने अवस्था सहकारी अभियानका लागि गम्भीर चुनौती भएको उनको भनाइ छ। वर्षौँ कमाएर सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउन नसक्ने अवस्था अन्त्य गर्नुपर्ने भन्दै उनले संस्थाहरू जुन उद्देश्यका लागि स्थापना भएका हुन्, त्यही उद्देश्यअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिइन्।
सहकारीको केन्द्रमा संस्था होइन, सदस्य हुनुपर्ने उनको स्पष्ट सन्देश थियो। वित्तीय पहुँच विस्तार, आर्थिक सशक्तीकरण र सदस्य सेवामा सञ्चालक तथा व्यवस्थापन केन्द्रित हुन सके सुशासनको सुरुआत त्यहीँबाट हुने उनले बताइन्।
पौडेलले सहकारी क्षेत्रलाई अब आफ्ना असल अभ्यास खोज्ने र त्यसलाई विस्तार गर्ने समय आएको पनि बताइन्। जापान, कोरिया र युरोपका सहकारीले आर्थिक विकासमा खेलेको भूमिकाबाट नेपालले सिक्न सक्ने भन्दै उनले अन्तर्राष्ट्रिय अभ्यासलाई नेपाली परिवेशअनुसार आत्मसात् गर्नुपर्ने बताइन्।

सरकारले बचत तथा ऋण सहकारीका लागि छुट्टै प्राधिकरणसम्बन्धी कानुन बनाउन लागेको उल्लेख गर्दै उनले त्यसमा सहकारी अभियानले सही र व्यवहारिक सुझाव दिनुपर्ने बताइन्। कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतोले अन्तर्राष्ट्रिय असल अभ्यासलाई नेपाली सहकारीमा आन्तरिकीकरण गर्न नेफ्स्कूनले भूमिका खेलेको बताए। बदलिएको नीतिगत व्यवस्थाअनुसार संघहरूले आफूलाई परिमार्जित गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बाबुराम गौतमले संशोधित कानुनअनुसार संघहरू अघि बढ्नुपर्ने बताए। बचत तथा ऋण सहकारीमा संस्थागत सुशासन कायम गर्न र असल अभ्यास आदानप्रदान गर्न नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको उनले बताए।
राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले बचत तथा ऋणको कारोबार जोखिमपूर्ण भएकाले त्यस्ता संस्थामा सोहीअनुसारको व्यवस्थापकीय क्षमता, निर्णय क्षमता र कार्ययोजना आवश्यक रहेको बताए।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमले सहकारी क्षेत्रसामु रहेको मूल चुनौती फेरि एकपटक सतहमा ल्याएको छ—गुमेको सदस्य विश्वास कसरी फर्काउने र असल सहकारीको पहिचान कसरी स्थापित गर्ने?
अब सहकारी अभियानले यसको जवाफ भाषणबाट होइन, सुशासन, पारदर्शिता र सदस्यको बचत फिर्ताबाट दिनुपर्ने देखिन्छ।


Comment