रोजगारी र लगानी बढाउने आर्थिक एजेन्डामा कांग्रेसको जोड : गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

रोजगारी र लगानी बढाउने आर्थिक एजेन्डामा कांग्रेसको जोड : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक स्थायित्व र लोकतान्त्रिक व्यवस्थालाई आर्थिक विकास तथा नागरिकको जीवनस्तर सुधारसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै थापाले मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्नु, युवाशक्ति विदेशिनु र गाउँबस्ती रित्तिँदै जानु अर्थतन्त्रका गम्भीर चुनौती भएको बताए।

उनले राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने भन्दै आर्थिक अवसर विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित भएर काम गर्नुपर्ने बताए। लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिको प्रतिफल नागरिकको दैनिक जीवनमा अपेक्षित रूपमा किन पुग्न सकेन भन्ने विषयमा राजनीतिक दलहरूले साझा समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

थापाले कांग्रेसले लोकतन्त्रलाई आर्थिक परिणामसँग जोड्ने भूमिका निर्वाह गर्नुपर्ने बताए।

“डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,” उनले भने।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थाप्रतिको नागरिकको विश्वास बलियो बनाउन राजनीतिक अधिकारसँगै आर्थिक अवसर र सार्वजनिक सेवाको प्रभावकारिता पनि बढाउन आवश्यक छ। त्यसका लागि नयाँ पुस्ताका आकांक्षा र पुरानो पुस्ताको राजनीतिक अनुभवलाई जोडेर पार्टीको नीति तथा संगठन अघि बढाउनुपर्ने उनले बताए।

थापाले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिकालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने धारणा राखे। उद्योगी तथा व्यवसायीले सम्मानका साथ लगानी गर्न सक्ने वातावरण निर्माण नगरी उत्पादन र रोजगारी विस्तार सम्भव नहुने उनको भनाइ थियो।

उद्योग तथा व्यवसाय विस्तार, निजी लगानी वृद्धि र रोजगारी सिर्जनालाई राजनीतिक प्राथमिकतासँग जोड्नुपर्ने भन्दै उनले आर्थिक गतिविधि बढाउने नीतिमा जोड दिए।

युवाको विदेश पलायनलाई रोक्न मुलुकभित्रै रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। गाउँबाट भइरहेको जनशक्ति पलायन र त्यसले स्थानीय अर्थतन्त्रमा पारिरहेको प्रभावलाई समेत राजनीतिक दलहरूले गम्भीर रूपमा लिनुपर्ने उनले बताए।

थापाले तत्कालीन चुनावी लाभका लागि राजनीतिक सिद्धान्तसँग सम्झौता गर्न नहुने पनि स्पष्ट पारे। निर्वाचनको परिणाम महत्वपूर्ण भए पनि राजनीतिक दलको जिम्मेवारी चुनाव जितेर सरकार बनाउने विषयमा मात्र सीमित हुन नहुने उनको भनाइ थियो।

दीर्घकालीन आर्थिक तथा सामाजिक हितलाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले कांग्रेसले आफ्नो राजनीतिक मूल्य र मान्यतालाई परिणाममुखी कामसँग जोड्नुपर्ने धारणा राखे।

कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको आगामी आर्थिक तथा राजनीतिक दिशामाथि समेत बहस गर्नुपर्ने थापाले बताए। उत्पादन, लगानी, रोजगारी र नागरिकको जीवनस्तर सुधारलाई प्राथमिकतामा राखेर आर्थिक तथा सामाजिक रूपान्तरण अघि बढाउने नीति तय गर्नुपर्ने उनको जोड थियो।

प्रकाशित : 5 October, 2026 8:00 am