नेफ्स्कूनको ३९ वर्ष- ‘सशक्त साकोस : उत्तरदायी सञ्जाल’ संकल्पसहित देशैभर विशेष कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेफ्स्कूनको ३९ वर्ष- ‘सशक्त साकोस : उत्तरदायी सञ्जाल’ संकल्पसहित देशैभर विशेष कार्यक्रम



काठमाडौं । देशभरका बचत तथा ऋण सहकारी संस्थाहरूको सर्वोच्च छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले ‘सशक्त साकोस : उत्तरदायी सञ्जाल’ भन्ने मूल नाराका साथ आफ्नो ३९औँ स्थापना दिवस विविध रचनात्मक तथा भव्य कार्यक्रमका साथ मनाउने तयारी पूरा गरेको छ।

विसं २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कून ३८ वर्षको सफल यात्रा पूरा गरी ३९औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसलाई ऐतिहासिक र राष्ट्रियस्तरको बनाउन संघले राजधानी काठमाडौंसहित देशका सातै प्रदेशमा एकैसाथ विशेष कार्यक्रमहरू आयोजना नेफ्सकूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए ।

केन्द्रीय समारोह र प्रादेशिक कार्यक्रमका प्रमुख केन्द्रहरू
नेफ्स्कूनले स्थापना दिवसको मूल केन्द्रीय समारोह आगामी आइतबार बिहान ११ बजे काठमाडौंमा आयोजना गर्दैछ। यसका साथै वित्तीय सहकारी अभियानलाई देशव्यापी बनाउन सातै प्रदेशमा प्रादेशिक समारोहहरू तय गरिएका छन्:

कोशी प्रदेश: इटहरी

मधेश प्रदेश: जनकपुर

बागमती प्रदेश: चितवन

गण्डकी प्रदेश: पोखरा

लुम्बिनी प्रदेश: दाङ

कर्णाली प्रदेश: सुर्खेत

सुदूरपश्चिम प्रदेश: धनगढी

कार्यक्रममा नियामक निकायका उच्चपदस्थ प्रतिनिधि, नेफ्स्कूनका पूर्वअध्यक्ष, सञ्चालक समिति तथा व्यवस्थापन प्रमुखहरू, सहकारी अभियानका अग्रज व्यक्तित्वहरू, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, पदाधिकारी एवं महाप्रबन्धकको उपस्थिति रहनेछ। साथै, विकास साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नेफ्स्कूनमा आबद्ध बचत तथा ऋण सहकारी संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो सहभागिता रहने संघले जनाएको छ।

सम्मान, पुरस्कार र दीक्षान्त समारोह मुख्य आकर्षण
स्थापना दिवसका अवसरमा नेफ्स्कूनले साकोस अभियानमा अनुकरणीय योगदान पुर्‍याउने निष्ठावान व्यक्तित्वहरू, उत्कृष्ट कार्यसम्पादन गर्ने कुशल व्यवस्थापकहरू र गुणस्तरीय सदस्य सेवामा समर्पित उत्कृष्ट संघ–संस्थाहरूलाई सम्मान तथा पुरस्कार घोषणा गर्दैछ। सोही कार्यक्रमकाबीच उनीहरूलाई पुरस्कार प्रदान गरिनेछ।

यसैबीच, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सहकार्य एवं नेफ्स्कूनको व्यवस्थापनमा सञ्चालित ‘सहकारी व्यवस्थापक कोर्स’ सफलतापूर्वक पूरा गरेका नयाँ जनशक्तिहरूलाई दीक्षित गर्ने विशेष कार्यक्रम समेत तय गरिएको छ।

चार दशक नजिकिँदाको कथा: कसरी सुरु भयो यो यात्रा?

आजभन्दा ३८ वर्षअघि, जब मुलुकमा सहकारीको स्पष्ट कानुनसमेत बनेको थिएन, तत्कालीन साझा केन्द्रका अध्यक्ष भोजराज घिमिरेको आँट र दुरदर्शितामा विसं २०४५ साल साउन ३२ गते ‘बचत समूह राष्ट्रिय संघ तदर्थ समिति’ को बीउ रोपिएको थियो। पछि सहकारी ऐन, २०४८ आएसँगै साउन २९ गते औपचारिक रूपमा दर्ता भएको यही संस्था आज लाखौँ नेपालीको आर्थिक समृद्धिको सारथी बनेको छ।

आज ३९औँ वर्ष प्रवेशको सङ्घारमा उभिएर नेफ्स्कूनले केवल पुराना दिन सम्झिरहेको छैन, बरु वित्तीय सहकारी क्षेत्रमा देखिएका चुनौतीहरू चिर्दै सदस्यप्रति पूर्ण रूपमा उत्तरदायी, प्रविधिमैत्री र सुरक्षित साकोस सञ्जाल निर्माण गर्ने दृढ सङ्कल्प फेरि एकपटक दोहोर्‍याएको छ।

प्रकाशित : 16 August, 2026 9:25 am