काठमाडौँ । नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
सोसाइटीले बिहीवार एक विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठको पक्राउ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्म विपरीत भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ कि पत्रकारले प्रकाशन गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेस सम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा, समाचार लेखेकै आधारमा सिधै पक्राउ गरिनु लोकतान्त्रिक मान्यता विपरीत हो ।
यस्तो कार्यले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्नुका साथै पत्रकारहरूलाई निर्भीक रूपमा समाचार सम्प्रेषण गर्न निरुत्साहित गर्ने सोसाइटीको दाबी छ । नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै सोसाइटीले पत्रकारलाई समाचारकै कारण पक्राउ गर्ने वा अनुसन्धानका नाममा त्रसित बनाउने कार्य बन्द गर्न आग्रह गरेको छ ।
पत्रकार तथा सञ्चार माध्यमले प्रचलित कानुनको पालना गर्नुपर्नेमा स्पष्ट रहँदै सोसाइटीले प्रकाशित समाचारका सम्बन्धमा कानुनी उपचार खोज्दा संवैधानिक मूल्य र पत्रकारको व्यवसायिक अधिकारको पूर्ण सम्मान हुनुपर्नेमा जोड दिएको छ । सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा जारी विज्ञप्तिमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निशर्त रिहा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ । साथै, प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न वा आपत्ति भएमा कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गर्दै स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति सोसाइटी सदैव सचेत, प्रतिबद्ध र खबरदारीमा रहने प्रतिबद्धता समेत जनाइएको छ ।


Comment