काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा कुल २ खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमा व्यवसाय १२.४३ प्रतिशतले विस्तार भएको हो।
आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा कम्पनीहरूले १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। त्यसको तुलनामा समीक्षा अवधिमा अधिकांश कम्पनीले व्यवसाय विस्तार गर्न सफल भएका छन्।
बीमा शुल्क संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले अग्रस्थान कायम राखेको छ। कम्पनीले १२.३४ प्रतिशत व्यवसाय वृद्धि गर्दै ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ११.०६ प्रतिशत वृद्धि गर्दै २४ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। एलआईसी नेपालले ६.५७ प्रतिशतले व्यवसाय बढाउँदै २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
त्यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय ५.१६ प्रतिशतले बढेर १८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६.५९ प्रतिशत वृद्धि गर्दै १२ अर्ब ९० करोड रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सले १३.५३ प्रतिशत वृद्धि गर्दै १० अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय भने २.२९ प्रतिशतले घट्दै ९ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ।
अन्य कम्पनीमध्ये सिटिजन्स लाइफ इन्स्योरेन्सले २४.९३ प्रतिशत वृद्धि गर्दै ९ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। सानिमा रिलायन्स लाइफको व्यवसाय १६.९९ प्रतिशतले बढेर ७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने आइएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा उच्च ३७.९६ प्रतिशत वृद्धि गर्दै ७ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
यस्तै, मेट लाइफले ९.६२ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ८६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २४ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ४२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २१ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ३३ करोड रुपैयाँ तथा सन नेपाल लाइफले १६.८० प्रतिशत वृद्धि गर्दै ४ अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
समग्रमा, समीक्षा अवधिमा जीवन बीमा उद्योगले दोहोरो अंकको वृद्धि हासिल गरेको छ। बीमा शुल्क संकलनका आधारमा नेपाल लाइफ र नेशनल लाइफ अग्रस्थानमा रहँदा व्यवसाय विस्तारको दरका आधारमा आइएमई लाइफ र सिटिजन्स लाइफ सबैभन्दा अगाडि देखिएका छन्।


Comment