मधेश र लुम्बिनी प्रदेशका आदिवासी पत्रकारका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मधेश र लुम्बिनी प्रदेशका आदिवासी पत्रकारका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा



काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले डेडिकेटेड ग्रान्ट मेकानिज्म ९डिजिएम० नेपालको वित्तीय सहयोगमा मधेश प्रदेश र लुम्बिनी प्रदेशका आदिवासी जनजाति पत्रकारहरूका लागि ‘पत्रकार फेलोसिप कार्यक्रम–२०८३’ घोषणा गरेको छ ।

कार्यक्रममार्फत वन, वातावरण, जलवायु परिवर्तन, दिगो वन व्यवस्थापन तथा आदिवासी जनजातिको परम्परागत ज्ञान र अभ्याससँग सम्बन्धित विषयमा गहन अध्ययन, खोज तथा अनुसन्धानमूलक पत्रकारितालाई प्रोत्साहन गरिने भएको हो । डिजिएम नेपाल आदिवासी तथा स्थानीय समुदायको रेडप्लस लगायतका वन तथा जलवायुसम्बन्धी सहभागिता सुदृढ बनाउन सञ्चालित कार्यक्रम हो ।

फेलोसिपमा मधेश र लुम्बिनी प्रदेशका डिजिएम नेपाल परियोजना लागू भएका क्षेत्रसँग सम्बन्धित आदिवासी जनजाति समुदायका पत्रकारले आवेदन दिन सक्नेछन् । इच्छुक पत्रकारले वन, वातावरण, जलवायु परिवर्तन तथा आदिवासी समुदायसँग सम्बन्धित विषयमा न्यूनतम २५० शब्दको मौलिक लेखसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ ।

फेलोसिपमा छनोट भएका पत्रकारलाई अध्ययन, भ्रमण, खोज तथा अनुसन्धानमूलक समाचार, फिचर स्टोरी वा रिपोर्टिङका लागि प्रति फेलो अधिकतम ४० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइने फोनिजले जनाएको छ । सहभागीले तयार गरेका सामग्री शब्द र भिडियो दुवै माध्यममा बुझाउनुपर्नेछ भने सामग्री तथ्य र प्रमाणमा आधारित हुनुपर्ने उल्लेख गरिएको छ ।

फेलोसिपअन्तर्गत तयार गरिने अध्ययन, फिचर वा अनुसन्धानमूलक सामग्री कम्तीमा तीन हजार शब्दको हुनुपर्नेछ र सहयोग प्राप्त गरेको २१ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

आवेदनका लागि शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, स्थायी लेखा नम्बर, पत्रकारिता गरिरहेको सञ्चार संस्थाको परिचयपत्र वा सिफारिस तथा व्यक्तिगत बायोडाटा अनिवार्य गरिएको छ ।

फोनिजका अनुसार आवेदन दिने अन्तिम मिति २०८३ साल साउन ३२ गतेदेखि साउन ६ गतेसम्म तोकिएको छ । इच्छुक पत्रकारले फोनिजको केन्द्रीय कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । कार्यक्रमसम्बन्धी थप जानकारीका लागि फोनिज वा डिजिएम नेपालको आधिकारिक माध्यममा सम्पर्क गर्न आग्रह गरिएको छ ।

आदिवासी जनजाति पत्रकारहरुको सूचना र समाचारबाट स्थानीय समुदाय र आदिवासी जनजातिमा छिटो छरिटो समाचार वा सूचनाको प्रभाव बढ्ने हुदाँ आदिवासी जनजाति पत्रकार र स्थानीय पत्रकार लक्षित गरेर पहिलो चरणमा लुम्बिनी र मधेश प्रदेशका लागि पत्रकार फेलोशिप कार्यक्रम संचालन गरिएको डिजिएम नेपालकी साधाना लिम्बुले बताएकी छन् ।

प्रकाशित : 16 July, 2026 5:44 pm