काठमाडौं । चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रयोग गरिएको इलेक्ट्रोनिक मतदान प्रणालीबारे उठेका प्रश्नहरूका सम्बन्धमा प्राविधिक विकासकर्ताले प्रष्टिकरण दिएका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक विकासकर्ता रामलक्ष्मण रिमालले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका केही समाचारले गलत बुझाइ सिर्जना गरेको बताएका छन्।
उनका अनुसार नेपालमै विकसित गरिएको उक्त इलेक्ट्रोनिक मतदान प्रणाली विगत १३ वर्षदेखि परीक्षण हुँदै आएको र करिब ३०० भन्दा बढी विभिन्न निर्वाचन तथा संघ–संस्थामा सफलतापूर्वक प्रयोग भइसकेको छ।
रास्वपा महाधिवेशनमा निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम नामावलीअनुसार मतदान प्रणाली तयार गरिएको उनले स्पष्ट पारेका छन्। एउटै समूहमा ६४ जना उम्मेदवार राखिएको व्यवस्था प्राविधिक टोलीको निर्णय नभई आयोगको निर्देशनअनुसार गरिएको उनको भनाइ छ।
उम्मेदवारको नाम, क्रम संख्या र अन्य विवरण निर्वाचन आयोगले उपलब्ध गराएको सूचीअनुसार नै राखिएको र त्यसमा कुनै परिवर्तन गर्न नसकिने प्राविधिक विकासकर्ताले स्पष्ट पारेका छन्।
त्यस्तै, उम्मेदवारको फोटो समावेश गर्न पर्याप्त समय नपाएकाले प्रणालीमा फोटो राख्न नसकिएको पनि उनले बताएका छन्। अन्तिम सूची ढिलो प्राप्त भएकाले निर्धारित समयमा मतदान सुरु गर्न बाध्य भएको उनको भनाइ छ।
मतगणनामा ढिलाइ भने प्रणालीको कमजोरी नभई निर्वाचन प्रक्रियासम्बन्धी निर्णयका कारण भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
विकासकर्ताले सम्पूर्ण प्रक्रिया पारदर्शी र प्राविधिक रूपमा सफल रहेको दाबी गर्दै भविष्यमा अझ सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।






Comment