वल्र्डलिङ्कको व्यापार एक वर्षमै १२ अर्ब नाघ्यो, ग्राहक संख्या १०.८ लाख पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

वल्र्डलिङ्कको व्यापार एक वर्षमै १२ अर्ब नाघ्यो, ग्राहक संख्या १०.८ लाख पुग्यो



काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसन्स ले सन् २०२५ मा १२ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ९.०१ प्रतिशतले बढी हो।

कम्पनीले सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ तथा सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। पछिल्ला वर्षहरूमा कम्पनीको कारोबार निरन्तर वृद्धि भइरहेको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामै कम्पनीले ९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ आम्दानी गरिसकेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत बढी हो।

कम्पनीको कुल आम्दानीमध्ये इन्टरनेट सेवाको हिस्सा ५१ प्रतिशत, प्राविधिक सहयोग तथा निगरानी सेवाको ४३ प्रतिशत तथा बाँकी हिस्सा नेटवर्क तथा उपकरण बिक्रीबाट आएको छ।

खर्च व्यवस्थापनमा सुधार र ब्याज खर्चमा कमी आएसँगै कम्पनीको सञ्चालन नाफा मार्जिन पनि बढेको छ। सन् २०२४ मा ३१.४५ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा ३२.६१ प्रतिशत पुगेको छ। आम्दानी र नाफा बढेसँगै कम्पनीको नगद प्रवाह पनि सुदृढ बनेको छ। यस अवधिमा कम्पनीको नगद आम्दानी ३ अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको छ।

नेपालको इन्टरनेट सेवा प्रदायक (आईएसपी) बजारमा कम्पनीले आफ्नो नेतृत्व कायम राखेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ जुलाईसम्म कम्पनीका ग्राहक संख्या करिब १० लाख १० हजार पुगेको थियो, जसले कुल आईएसपी बजारको करिब ३२ प्रतिशत हिस्सा ओगटेको थियो।

त्यस्तै, सन् २०२६ अप्रिलसम्म ग्राहक संख्या बढेर १० लाख ८० हजार पुगेको छ भने बजार हिस्सा करिब ३१ प्रतिशत रहेको छ।

यद्यपि कम्पनीको प्रति ग्राहक औसत आम्दानी (एआरपीयू) पछिल्ला तीन वर्षदेखि घट्दो क्रममा रहेको छ। सन् २०२४ मा ९२७ रुपैयाँ रहेको एआरपीयू सन् २०२५ मा घटेर ८४९ रुपैयाँमा झरेको थियो। तर सन् २०२६ को पहिलो छ महिनामा भने यसमा सामान्य सुधार देखिँदै ८५९ रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय अवस्था पनि बलियो रहेको रेटिङ एजेन्सीले जनाएको छ। ऋण–इक्विटी अनुपात सहज अवस्थामा रहेको तथा ब्याज तिर्ने क्षमता १३.८९ गुणासम्म पुगेको उल्लेख गरिएको छ। कुल ऋण सञ्चालन नाफाको तुलनामा निकै कम रहेको पनि एजेन्सीको निष्कर्ष छ।

विदेशी लगानी आकर्षित गर्न सफल कम्पनीले सन् २०२३ मा British International Investment बाट १ अर्ब ८ करोड रुपैयाँ तथा Dolma Impact Fund बाट ९० करोड रुपैयाँ लगानी प्राप्त गरेको थियो।

त्यसपछि सन् २०२६ फेब्रुअरीमा Finnfund ले थप १ अर्ब ३९ करोड रुपैयाँ लगानी गरेको छ। यससँगै कम्पनीमा कुल विदेशी लगानी ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

कम्पनीको दीर्घकालीन तथा अल्पकालीन बैंकिङ सुविधाको क्रेडिट रेटिङ पनि स्तरोन्नति गरिएको छ। दीर्घकालीन बैंक सुविधाको रेटिङ ‘ए’ बाट ‘एप्लस’ तथा अल्पकालीन बैंक सुविधाको रेटिङ ‘एप्लस–२’ बाट ‘ए–१’ मा सुधार गरिएको हो।

वल्र्डलिङ्कले बैंकिङ कर्जा सुविधाका लागि २ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। यसअघि कम्पनीले ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको रेटिङ गराएको थियो। हाल दीर्घकालीन कर्जाका लागि १ अर्ब १ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७५ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराइएको छ।

सन् १९९६ मा स्थापना भएको कम्पनी सन् २०१९ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। ‘वल्र्डलिङ्क’ ब्रान्डमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीको नेतृत्व दिलीप अग्रवाल ले गरिरहेका छन्। सञ्चालक समितिमा मनोज कुमार अग्रवाल र लक्ष्मण कुमार यादव रहेका छन्।

प्रकाशित : 24 June, 2026 3:19 pm