काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक चिप–लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर (N EYE Laptop Service Centre)’ सञ्चालनमा आएको छ।
पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा स्थापना गरिएको सेवा केन्द्रले बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्ड तथा अन्य डिजिटल उपकरणलाई न्यून लागतमा मर्मत गरी पुनः प्रयोगयोग्य बनाउने लक्ष्य राखेको जनाएको छ।
सेवा केन्द्रले मोबाइल रिपेयरिङ, आईफोन तथा एन्ड्रोइड सफ्टवेयर समाधान, म्याकबुक तथा ल्यापटप मर्मत, मदरबोर्ड तथा चिप–लेभल रिपेयरिङ, विन्डोज सपोर्ट, एडोब तथा अफिस प्याकेज इन्स्टलेसनलगायतका प्राविधिक सेवा प्रदान गर्नेछ।
उद्घाटन समारोहमा प्रमुख अतिथि सीटीईभीटीका उपाध्यक्ष तथा नेपाल औषधि लिमिटेडका निवर्तमान महाप्रबन्धक डा. मोहम्मद सफीउल्लाहले नेपालमा पहिलोपटक भित्रिएको यस्तो प्रविधिले उपभोक्तालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। उनले सामान्य खराबीका कारण लाखौं रुपैयाँ मूल्यका डिजिटल उपकरण फाल्नुपर्ने अवस्था अब क्रमशः अन्त्य हुने बताए।
“नेपालजस्तो विकासोन्मुख र कम आय भएको मुलुकका लागि यस्तो प्रविधि अत्यन्त उपयोगी छ,” उनले भने, “यसले उपभोक्ताको खर्च बचत गर्नुका साथै डिजिटल उपकरणको आयु पनि बढाउँछ।”
कार्यक्रमका विशेष अतिथि तथा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) का कार्यवाहक अध्यक्ष एवं साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले नेपालमै पहिलोपटक यस्तो स्तरको रिपेयरिङ प्रविधि भित्रिनु सूचना प्रविधि क्षेत्रका लागि सकारात्मक उपलब्धि भएको बताए।
उनले कम लागत, छिटो सेवा र वारेन्टीसहितको मर्मत सुविधाले उपभोक्तामा नयाँ विश्वास सिर्जना गर्ने उल्लेख गर्दै डिजिटल उपकरण बिग्रिँदा प्रतिस्थापनभन्दा मर्मतलाई प्राथमिकता दिने संस्कृतिको विकास आवश्यक रहेको बताए।
सेवा केन्द्रका सञ्चालक गणेश शर्माले अन्तर्राष्ट्रिय स्तरको ‘रिपेरी एक्स फ्रेन्चाइज’मार्फत सेवा सुरु गरिएको जानकारी दिए। उनका अनुसार लामो समयदेखि बिग्रिएर थन्किएका मोबाइल, ल्यापटप तथा अन्य डिजिटल उपकरणलाई सुलभ मूल्यमा पुनः सञ्चालनयोग्य बनाउने लक्ष्यसहित सेवा केन्द्र स्थापना गरिएको हो।
“हामी बोलेर होइन, काम गरेर विश्वास जित्न चाहन्छौं,” शर्माले भने, “ग्राहकलाई गुणस्तरीय, पारदर्शी र भरपर्दो सेवा प्रदान गर्नु नै हाम्रो प्राथमिकता हो।”
दक्ष प्राविधिक टोली, आधुनिक उपकरण र ग्राहक–केन्द्रित सेवा प्रणालीसहित सञ्चालनमा आएको एन आइ ल्यापटप सर्भिस सेन्टरले काठमाडौं उपत्यकामा डिजिटल उपकरण मर्मत सेवाको क्षेत्रमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।
प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला गुणस्तरीय, भरपर्दो र किफायती मर्मत सेवाको आवश्यकता पनि बढ्दै गएको छ। यस्तो अवस्थामा पाकोस्थित एन आइ ल्यापटप सर्भिस सेन्टर डिजिटल उपकरण मर्मतका लागि उपभोक्ताको नयाँ गन्तव्य बन्ने विश्वास व्यक्त गरिएको छ।






Comment