कुनै समय गाउँघरका सर्वसाधारणको सानो बचत सुरक्षित राख्ने र आवश्यक पर्दा सहज ऋण उपलब्ध गराउने माध्यमका रूपमा परिचित सहकारी संस्थाहरू आज स्थानीय अर्थतन्त्रका प्रभावशाली संवाहकका रूपमा स्थापित हुँदै गएका छन्। बचत संकलन र ऋण प्रवाहमा सीमित रहेको सहकारीको परम्परागत भूमिकाले अहिले नयाँ आयाम ग्रहण गरेको छ। उत्पादन, उद्यमशीलता, कृषि आधुनिकीकरण, सीप विकास, सामाजिक उत्तरदायित्व तथा डिजिटल वित्तीय सेवासम्म विस्तार भएको सहकारी अभियानले ग्रामीण अर्थतन्त्रलाई नयाँ गति प्रदान गरिरहेको छ।
विशेषगरी सहकारीको हबका रूपमा विकसित हुँदै गएको दोलखामा सहकारी संस्थाहरूले वित्तीय कारोबारलाई मात्र होइन, सदस्यको जीवनस्तर उकास्ने अभियानलाई समेत प्राथमिकतामा राखेका छन्। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, स्वरोजगार सिर्जना गर्ने, कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउने र नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारीहरूले बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेका छन्।
दोलखाको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड यस अभियानको एक उदाहरणीय संस्था हो। संस्थाले बचत तथा ऋण सेवासँगै सदस्यलाई उत्पादनमुखी गतिविधिमा जोड्ने रणनीति अवलम्बन गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतका अनुसार सहकारीले कृषि, पशुपालन तथा उद्योग क्षेत्रमा योजनाबद्ध लगानी गर्दै सदस्यको उत्पादन र बजार व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ।
“सहकारीले केवल बचत संकलन र ऋण प्रवाहमा सीमित रहनु हुँदैन,” बस्नेत भन्छन्, “सदस्यलाई उत्पादनसँग जोड्दै उनीहरूको आर्थिक उन्नतिमा प्रत्यक्ष योगदान पुर्याउनु आजको आवश्यकता हो। त्यसैले हामी कृषि, पशुपालन र उद्योग क्षेत्रमा लगानीसँगै उत्पादन र बजारीकरणमा पनि सक्रिय छौँ।”
संस्थाले कृषि पेशामा आबद्ध सदस्यहरूलाई पशुपालनसम्बन्धी तालिम, दुग्ध उत्पादन प्रवर्द्धन, डेरी सञ्चालन तथा बजार व्यवस्थापनमा सहयोग गर्दै आएको छ। यसले सदस्यलाई केवल ऋणग्राही होइन, उत्पादनशील उद्यमीका रूपमा विकास गर्ने लक्ष्य लिएको देखिन्छ।
सहकारीको नयाँ जिम्मेवारी : वातावरणदेखि समाजसम्म
सहकारीको भूमिका आर्थिक गतिविधिमा मात्र सीमित छैन। सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वातावरण संरक्षणका क्षेत्रमा समेत सहकारी संस्थाहरू सक्रिय बन्दै गएका छन्।
भीमेश्वर नगरपालिका क्षेत्रमा ४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिक झोलाको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था र भीमेश्वर नगरपालिकाबीच साझेदारी कार्यक्रम सञ्चालन भइरहेको छ।
प्रमुख कार्यकारी अधिकृत बस्नेतका अनुसार संस्थाले फोहोर उत्पादन हुने स्थानमै पुगेर फोहोरको वर्गीकरण, व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउने काम गरिरहेको छ। वातावरणमैत्री व्यवहारको विकासले स्वच्छ, सुन्दर र व्यवस्थित नगर निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।
यस अभियानअन्तर्गत प्रत्येक परिवारलाई तीन रङका ४० माइक्रोनभन्दा माथिका प्लाष्टिक झोला केही समय निःशुल्क वितरण गरिएको थियो भने वातावरणमैत्री सपिङ झोला २५ रुपैयाँमा उपलब्ध गराइएको छ। यसले वातावरण संरक्षणसँगै जिम्मेवार उपभोग संस्कृतिको विकासमा समेत टेवा पुर्याएको छ।
सीपलाई अवसरसँग जोड्दै
सहकारीको अर्को महत्वपूर्ण पक्ष भनेको सदस्यको सीप र क्षमतालाई आर्थिक अवसरमा रूपान्तरण गर्नु हो। हाम्रो जनकल्याण सहकारीले गृहिणी महिलाहरूले मकैको खोस्टाबाट उत्पादन गर्ने चकटीलाई बजारसम्म पुर्याउने काम गर्दै आएको छ।
ग्रामीण महिलाको परम्परागत सीपलाई आयआर्जनसँग जोड्ने यस प्रयासले उनीहरूको आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पारेको छ। यसका साथै संस्थाले ढाका तथा ऊनी कपडा उत्पादनसम्बन्धी तालिम, कृषि तालिम तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बस्नेतका अनुसार चकटी केवल घरेलु सामग्री मात्र होइन, धार्मिक पूजा, पितृकार्य तथा विभिन्न सांस्कृतिक गतिविधिमा समेत प्रयोग हुने भएकाले यसको बजार सम्भावना राम्रो छ।
“परम्परागत सीपको संरक्षणसँगै रोजगारी सिर्जना गर्नु हाम्रो उद्देश्य हो,” उनी भन्छन्, “स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउन सकिन्छ।”
संस्थाले तरकारी खेती, गाईपालन, कुखुरापालनलगायत क्षेत्रमा संलग्न सदस्यलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ। विशेषगरी गृहिणी महिलाको आर्थिक आधार सुदृढ बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्।
सामाजिक सुरक्षाको अनुभूति
सहकारीले सदस्यलाई वित्तीय सेवासँगै सामाजिक सुरक्षाको अनुभूति दिलाउने प्रयास पनि गरिरहेको छ। हाम्रो जनकल्याण साकोसले करिब छ वर्षदेखि सुत्केरी प्रोत्साहन भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रमअन्तर्गत बढीमा दुई सन्तान जन्माउने आमालाई प्रति सन्तान एक हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता प्रदान गरिन्छ। सुत्केरी अवस्थामा पोषणयुक्त खानपानको आवश्यकता हुने भएकाले संस्थाले यो कार्यक्रम सुरु गरेको प्रमुख कार्यकारी अधिकृत बस्नेत बताउँछन्।
उनका अनुसार प्रत्येक वर्ष करिब २० देखि २५ जना आमाले यस सुविधाबाट लाभ लिने गरेका छन्। यस कार्यक्रमले सदस्यमा अपनत्वको भावना बढाउनुका साथै सहकारीप्रतिको आकर्षण पनि वृद्धि गरेको छ।
प्रविधिसँगै बदलिँदो सहकारी
डिजिटल युगसँगै सहकारी क्षेत्र पनि तीव्र रूपमा प्रविधिमैत्री बन्दै गएको छ। एक समय म्यानुअल प्रणालीमा सीमित रहेका सहकारीहरूले अहिले मोबाइल बैंकिङ, एटीएम, क्यूआर कोड, एसएमएस बैंकिङ, ट्याबलेट बैंकिङलगायत आधुनिक सेवा सञ्चालन गर्न थालेका छन्।
विशेषगरी ग्रामीण क्षेत्रमा रहेका सदस्यलाई आधुनिक वित्तीय सेवासँग जोड्न सहकारीहरूले डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका छन्। बैंकको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई समेत सहज वित्तीय सेवा उपलब्ध गराउन सहकारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारीले ‘प्रविधिमैत्री गुणस्तरीय सेवा, सदस्यलाई टेवा’ भन्ने मूल उद्देश्यका साथ सेवा प्रदान गर्दै आएको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालका अनुसार संस्थाले आफ्ना १६ वटै सेवा केन्द्रमार्फत डिजिटल सेवा उपलब्ध गराउँदै आएको छ।
हाल जनसचेतन सहकारीमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक हजार ८ सयभन्दा बढी पुगेको छ। यसले ग्रामीण क्षेत्रमा डिजिटल वित्तीय सेवाप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट रूपमा देखाउँछ।
त्यस्तै, रामेछापको मन्थलीस्थित नवजागरण बचत तथा ऋण सहकारीले मोबाइल एपमार्फत ब्यालेन्स जानकारी, मोबाइल तथा डिसहोम रिचार्ज, रकम स्थानान्तरण, इन्टरनेट तथा बिजुलीको बिल भुक्तानीलगायत सेवा उपलब्ध गराउँदै आएको छ। यसले सदस्यलाई घरमै बसेर वित्तीय कारोबार गर्ने सुविधा प्रदान गरेको छ।
सहकारीबाट उद्यमशीलताको विस्तार
सुदूरपश्चिममा पृथक पहिचान बनाएको किसान बहुउद्देश्यीय सहकारी संस्थाले वित्तीय सेवासँगै कृषि तथा उपभोक्ता सेवामा उल्लेखनीय विस्तार गरेको छ।
२०५२ साल कार्तिक १७ गते स्थापना भएको संस्थाले सुदूरपश्चिमका सात जिल्ला र लुम्बिनी प्रदेशको बर्दियासम्म आफ्नो सेवा विस्तार गरिसकेको छ। २५ जना शेयर सदस्य र ६० हजार ६ सय रुपैयाँ शेयर पुँजीबाट सुरु भएको संस्था अहिले ४२ वटा सेवा केन्द्रमार्फत सञ्चालन भइरहेको छ।
संस्थाले चार वटा किसान कोप एग्रो आउटलेट तथा तीन वटा किसान कोप मार्ट सञ्चालन गर्दै सदस्यलाई वित्तीय सेवासँगै कृषि तथा उपभोक्ता सेवा उपलब्ध गराइरहेको छ।
‘किसान स्मार्ट’ मोबाइल बैंकिङ सेवामार्फत सदस्यले रकम स्थानान्तरण, मोबाइल रिचार्ज, बिल भुक्तानी, मिनी स्टेटमेन्टलगायत सुविधा प्राप्त गरिरहेका छन्। एटीएम, एसएमएस, ट्याबलेट बैंकिङ तथा क्यूआर सेवाले संस्थालाई प्रविधिमैत्री सहकारीका रूपमा स्थापित गरेको छ।
कृषिमा निर्भर सदस्यको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले संस्थाले कृषि तालिम, प्राविधिक परामर्श, बीउविजन, उत्पादन सामग्री तथा कृषि कर्जा उपलब्ध गराउँदै आएको छ। यसले सदस्यलाई व्यवसायिक कृषितर्फ आकर्षित गर्दै आयआर्जन वृद्धि गर्न सहयोग पुर्याएको छ।
सहकारीको भविष्य : उत्पादनमुखी अर्थतन्त्र
नेपालको सहकारी आन्दोलन अहिले नयाँ मोडमा पुगेको छ। सहकारी संस्थाहरू बचत र ऋणको सीमित घेराबाट बाहिर निस्कँदै उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अग्रसर छन्।
सदस्यलाई आर्थिक रूपमा सक्षम बनाउने, स्थानीय उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा प्रविधिमार्फत सेवा सहज बनाउने कार्यमा सहकारीहरूको भूमिका दिनप्रतिदिन सशक्त बन्दै गएको छ।
गाउँदेखि सहरसम्म फैलिएको सहकारी सञ्जालले वित्तीय पहुँच विस्तार गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण आधार तयार गरेको छ। सहकारीमार्फत बचत, लगानी, उत्पादन र बजारबीचको सम्बन्ध बलियो बन्दै जाँदा समुदायको आर्थिक आधार पनि मजबुत हुँदै गएको छ।
आजको सहकारी केवल पैसा जम्मा गर्ने वा ऋण लिने संस्था मात्र होइन। यो सदस्यको सपना, सीप, श्रम र सम्भावनालाई समृद्धिसँग जोड्ने साझा अभियान बनेको छ। उत्पादन, प्रविधि, सामाजिक उत्तरदायित्व र सामूहिक समृद्धिको यात्रामा सहकारीहरू अब ग्रामीण नेपालको आर्थिक रूपान्तरणका महत्वपूर्ण संवाहकका रूपमा स्थापित हुँदै गएका छन्।
संघर्षबाट उद्यमशीलताको यात्रासम्म

घरायसी कामको बहाना बनाएर तोरी र पिठो पिसाउन बाहिर निस्कने महिलाहरूको सानो प्रयासबाट सुरु भएको प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था आज महिला सशक्तीकरण र उद्यमशीलताको उदाहरण बनेको छ।
आफ्नो घरको सीमित घेराबाट बाहिर निस्केर बचत गर्ने बानी बसाल्ने उद्देश्यले सुरु भएको यो अभियानले अहिले महिलाहरूलाई व्यवसायिक पहिचान निर्माण गर्ने माध्यमसमेत दिएको छ।
मासिक १० रुपैयाँ बचत संकलन गर्दै २०५४ सालमा सुरु भएको सहकारी २६ जना महिलाको सक्रियताबाट अघि बढेको थियो। अहिले यही संस्था २ हजार २२४ जना शेयर सदस्य भएको बलियो सहकारीका रूपमा स्थापित भएको छ।
विशेषगरी कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको सहकारीमा आबद्ध सदस्यहरूले १७ वटा समूह बनाएर उत्पादनमूलक गतिविधि सञ्चालन गरिरहेका छन्। सहकारीले सदस्यलाई उद्यमी बनाउने उद्देश्यले कृषि क्षेत्रमा लगानी विस्तार गर्दै आएको संस्थाकी अध्यक्ष सीता न्यौपाने बताउँछिन्।
सहकारीले सदस्यलाई विनाधितो ५ लाख रुपैयाँसम्म र धितो राखेर ३० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ। संस्थाले ६२ बिघा क्षेत्रफलमा आलुको बीउ उत्पादनसमेत गर्दै आएको अध्यक्ष न्यौपानेले जानकारी दिइन्।
“सुरुवाती अवस्थामा दुई रुपैयाँ बचत गर्न पनि कठिन हुने अवस्था थियो, अहिले संस्थाको कुल पुँजी २४ करोड रुपैयाँ पुगेको छ,” अध्यक्ष न्यौपाने भन्छिन्।
सदस्यको जीवनस्तर सुधार गर्ने र उनीहरूलाई आत्मनिर्भर उद्यमी बनाउने लक्ष्यअनुसार सहकारीका योजना तथा कार्यक्रम कृषि केन्द्रित बनाइएको उनले बताइन्।
“कृषि उत्पादन गर्ने र त्यसलाई व्यवसायिक बनाउने सदस्यको संख्या क्रमशः बढ्दै गएको छ,” न्यौपाने भन्छिन्।
सहकारी अभियानले महिलाको आर्थिक अवस्था मात्रै परिवर्तन गरेको छैन, सामाजिक नेतृत्वमा समेत उनीहरूको सहभागिता बढाएको छ। सहकारीसँग जोडिएका केही महिला दिदीबहिनीहरू जनप्रतिनिधिको भूमिकासम्म पुग्न सफल भएका छन्।
सानो बचतबाट सुरु भएको महिलाको त्यो अभियान आज समुदायको आर्थिक परिवर्तन र आत्मनिर्भरताको आधार बन्न पुगेको छ।
सानो बचतबाट आत्मनिर्भरताको अभियान

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा रहेको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि.ले सानो बचतलाई आधार बनाएर सदस्यलाई आत्मनिर्भर बनाउने अभियान सञ्चालन गर्दै आएको छ। बचत संकलन र ऋण प्रवाहसँगै सहकारीले लघुवित्त मोडेलमार्फत सदस्यलाई उद्यमशीलतातर्फ जोड्दै आएको छ।
२०५५ सालमा स्थापना भएको यो सहकारी सुरुमा २८ जना सदस्यको सहभागितामा अघि बढेको थियो। संस्थापक सदस्यहरूले एक हजार रुपैयाँ शेयर र एक हजार रुपैयाँ प्रवेश शुल्कबाट सहकारीको सुरुवात गरेका थिए। त्यतिबेला मासिक एक सय रुपैयाँ बचत गर्ने अभ्यासबाट सुरु भएको संस्था अहिले मजबुत वित्तीय आधार भएको सहकारीका रूपमा स्थापित भएको छ।
वैदेशिक रोजगारीबाट फर्किएकालाई कृषि जोड्दै
वैदेशिक रोजगारीमा गएर फर्किएका सदस्यहरूलाई समेत सहकारीले उत्पादनमूलक क्षेत्रमा जोड्ने प्रयास गरेको छ।
संस्थाका प्रबन्धक बी.पी. प्याकुरेलका अनुसार केही सदस्य वैदेशिक रोजगारीमा गए पनि फर्किएपछि कृषि कर्ममा लाग्न थालेका छन्। उनीहरूलाई आवश्यक ऋण उपलब्ध गराएर व्यवसायिक बन्न सहयोग गरिएको छ।
“विदेशबाट फर्किएका सदस्यलाई कृषि तथा अन्य उद्यममा जोड्ने काम भइरहेको छ,” प्याकुरेल भन्छन्।
यसले गाउँमै रोजगारी सिर्जना गर्ने र स्थानीय स्रोतसाधनको उपयोग गर्ने वातावरण निर्माण गरेको छ।
प्रविधिमैत्री बन्ने तयारी
समयअनुसार सहकारीलाई प्रविधिमैत्री बनाउने योजना संस्थाले अघि सारेको छ। हाल सबै कारोबार सफ्टवेयर प्रणालीमार्फत गर्दै आएको सहकारीले आगामी दिनमा विद्युतीय कारोबार विस्तार गर्ने र छुट्टै मोबाइल एप सञ्चालन गर्ने तयारी गरेको छ।
सहकारीले डिजिटल सेवामार्फत सदस्यलाई थप सहज र छिटो सेवा दिने लक्ष्य लिएको छ।
सदस्यलाई आर्थिक समस्या पर्दा सहकारी नै पहिलो सहारा बन्न थालेको छ। सदस्यले बाख्रा, कुखुरा वा अन्य उत्पादन बिक्रीबाट प्राप्त आम्दानीसमेत सहकारीमै बचत गर्न ल्याउने गरेका छन्।
स्थानीय सरकारसँग सहकार्य
सहकारीले सदस्यको जीवनस्तर सुधारका लागि सहुलियत कर्जा, कृषि प्रवर्द्धन र बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ। बचत, बीमा रेमिट्यान्सलगायत सेवा दिँदै आएको आत्मनिर्भर बचत तथा ऋण सहकारी अहिले सिन्धुपाल्चोककै नमुना सहकारीका रूपमा स्थापित हुँदै गएको छ।
सानो बचतबाट सुरु भएको संस्था आज समुदायका सदस्यलाई आर्थिक रूपमा सक्षम बनाउने माध्यम बनेको छ। सहकारीको उद्देश्य केवल वित्तीय कारोबार बढाउनु नभई गाउँमै अवसर सिर्जना गर्दै सदस्यलाई आत्मनिर्भर बनाउनु रहेको देखिन्छ।






Comment