काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न प्रशासनिक तथा नीतिगत विषयमा चार महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण, सुरक्षा निकायको व्यवस्थापन, अध्ययन समितिको कार्यावधि विस्तार तथा भूमि समस्या समाधान आयोगमा पदाधिकारी नियुक्तिसम्बन्धी निर्णय गरेको हो।
बैठकले युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम (UNEP) अन्तर्गत ओजन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बलका डीआईजी अञ्जनीकुमार पोखरेललाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले २०८० भदौ २३ र २४ गते भएको प्रदर्शनका घटनाबारे गठित आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको अध्ययन तथा सिफारिसका लागि बनेको अध्ययन समितिको कार्यावधि थप ४५ दिन बढाउने निर्णय पनि गरेको छ।
यस्तै, भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला (कास्की) नियुक्त भएका छन्। समितिका सदस्यमा अमीरप्रसाद न्यौपाने (काठमाडौं), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।






Comment