फोनपे नेटवर्कमा अब युनियनपे इन्टरनेशनल लाइभ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

फोनपे नेटवर्कमा अब युनियनपे इन्टरनेशनल लाइभ



ललितपुर । नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ । यो सहकार्य नेपाललाई विश्वभरका यात्रुहरूका लागि डिजिटल रूपमा समावेशी गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।

यस एकीकरणसँगै चीनको मुख्यभूमि, हङकङ एसएआर, मकाउ एसएआर, सिंगापुर लगायत विश्वभरका युनियनपे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा सहज रूपमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस सहकार्यको औपचारिक घोषणा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, युनियनपे इन्टरनेशनल, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्थाहरू, व्यवसायिक समुदाय तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले फोनपे नेटवर्कमा युनियनपे इन्टरनेशनलको एकीकरण हाम्रो लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

उनले भने,’युनियनपे विश्वकै सबैभन्दा ठूलो कार्ड तथा पेमेन्ट नेटवर्कमध्ये एक हो, र यसको प्रयोगकर्ताहरूले अब सिधै हाम्रो क्यूआर पूर्वाधारमार्फत कारोबार गर्न सक्नु नेपाललाई विश्वस्तरीय डिजिटल भुक्तानी गन्तव्यको रूपमा स्थापित गर्ने कदम हो ।’

यो केवल दुई संस्थाबीचको सहकार्य मात्र नभई नेपालको डिजिटल कनेक्टिभिटी विश्वस्तरमा विस्तार भइरहेको सन्देश पनि भएको उनले बताए ।

यस्तै युनियनपे इन्टरनेशनलका उपाध्यक्ष झुआङ बेईले युनियन पे इन्टरनेशनल विश्वभरका आफ्ना कार्डधारक तथा एप प्रयोगकर्ताहरूका लागि यात्रा र व्यापारलाई सहज बनाउने प्रतिबद्धतामा केन्द्रित रहेको बताए ।

‘सशक्त पर्यटन अर्थतन्त्र र दक्षिण एसियाकै विकसित क्यूआर मर्चेन्ट नेटवर्कमध्ये एक भएको नेपाल हाम्रो इकोसिस्टमका लागि उत्कृष्ट अवसर हो,’ उनले भने,’फोनपेसँगको सहकार्यमार्फत युनियनपे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी मर्चेन्ट टचपोइन्टहरूमा आफ्नै देशजस्तै सहज डिजिटल भुक्तानी अनुभव गर्न सक्नेछन्।’

नेपालको पर्यटन अर्थतन्त्रका लागि गेम चेन्जर

नेपालले सन् २०२५ मा ११.५ लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गरेको थियो, जसमा चीनको मुख्यभूमि, हङकङ एसएआर तथा एसियाका अन्य युनियनपे(प्रमुख बजारहरूबाट आउने पर्यटकहरूको उल्लेख्य हिस्सा रहेको थियो ।

यसअघि यी पर्यटकहरूले आफ्ना प्राथमिक डिजिटल भुक्तानी माध्यमहरू सीमित रूपमा मात्र उपलब्ध भएकाले नगदमा बढी निर्भर रहनुपर्थ्यो । अब यो एकीकरणसँगै उक्त समस्या पूर्ण रूपमा समाधान भएको छ ।

फोनपे क्यूआर मार्फत डिजिटल भुक्तानी स्वीकार गर्ने सबै मर्चेन्टहरूले अब अन्तर्राष्ट्रिय ग्राहकहरूबाट युनियनपे एप प्रयोग गरी सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सहकार्यले मर्चेन्टहरूको आम्दानी सम्भावना बढाउनुका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग हुने कारोबारमा देखिने अवरोध कम गर्ने अपेक्षा गरिएको छ ।

युनियनपेसँगको यो सहकार्यले फोनपेलाई नेपालको सबैभन्दा अन्तर्राष्ट्रिय रूपमा जोडिएको पेमेन्ट नेटवर्कको रूपमा अझ मजबुत बनाएको छ । फोनपेले हाल अलिपें, भारतको युपीआई लगायत दक्षिण एसिया तथा एसियन क्षेत्रका विभिन्न नेटवर्कहरूसँग सहकार्य गर्दै १३ भन्दा बढी देशका वालेट तथा पेमेन्ट प्रणालीहरूसँग आफ्नो पहुँच विस्तार गरिसकेको छ ।

प्रकाशित : 29 May, 2026 1:07 pm