काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार अर्थबजार डटकम अन्तर्गत हिमशिला मिडिया प्रा.लिको आयोजनामा भएको ‘आगामी बजेट र उद्योगी एवं व्यवसायीका साझा मुद्दा’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन सरकार र नेपाल राष्ट्र बैंकले आईटी तथा सफ्टवेयर कम्पनीहरूका लागि विशेष वित्तीय नीति ल्याउनुपर्ने, सार्वजनिक खरिद प्रक्रियामा छुट्टै आईटी खरिद ऐन आवश्यक रहेको र आईटी उद्योगलाई औपचारिक रूपमा ‘उद्योग’को मान्यता दिनुपर्ने बताए।
अधिकारीले आईटी कम्पनीलाई १० वर्षसम्म १ प्रतिशत मात्र संस्थागत कर, निर्यातमा ८ प्रतिशत प्रोत्साहन अनुदान, दक्ष जनशक्तिका लागि व्यक्तिगत आयकर २५ प्रतिशतमा सीमित गर्ने तथा भ्याट फिर्ता प्रक्रियालाई सहज बनाउनुपर्ने सुझाव दिए।
त्यस्तै, रु. १० करोडसम्मका सरकारी आईटी ठेक्का नेपाली कम्पनीलाई मात्र दिनुपर्ने, ठूला आयोजनामा कम्तीमा ३० प्रतिशत काम स्थानीय कम्पनीलाई अनिवार्य रूपमा दिनुपर्ने र अमेरिका, बेलायत तथा अष्ट्रेलियासँग दोहोरो कर मुक्ति सम्झौता विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
उनले साइबर सुरक्षा, एआई सुशासन, क्लाउड सेवा, डाटा सेन्टर विकास, डिजिटल भुक्तानी प्रणाली र स्टार्टअप इकोसिस्टम सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै इन्टरनेट तथा टेलिकम क्षेत्रमा लगाइएको उच्च कर घटाउन सरकारसँग माग गरे।






Comment