होण्डाद्वारा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशभर ६ नयाँ सेवा केन्द्र विस्तार गर्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

होण्डाद्वारा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशभर ६ नयाँ सेवा केन्द्र विस्तार गर्ने घोषणा



काठमाडौं । स्याकार ट्रेडिङ कम्पनीले होण्डा ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित दुई नयाँ प्रिमियम सर्भिस सेन्टरको उद्घाटन गरेको छ । कम्पनीले देशभर थप ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना पनि सार्वजनिक गरेको छ ।

पद्म ज्योति ग्रुपअन्तर्गत रहेको कम्पनीले त्रिपुरेश्वरस्थित नयाँ सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कान्तिपथस्थित ज्योति भवनमा रहेका दुई सेवा केन्द्रको औपचारिक उद्घाटन गरेको हो ।

उद्घाटन समारोहमा तोसिओ कुवाहाराको प्रमुख आतिथ्य रहेको थियो । उनी होण्डा मोटर कम्पनी लिमिटेडका उपाध्यक्ष तथा एसिया एण्ड ओसियाना क्षेत्रीय सञ्चालन प्रमुख हुन् । कार्यक्रममा सौरभ ज्योति र सुहृद ज्योतिको समेत उपस्थिति रहेको थियो ।

कम्पनीले पहिलेकै मूल्यमा प्रिमियम सर्भिस अवधारणा अघि सारेको जनाएको छ । यसअन्तर्गत ग्राहकहरूले अतिरिक्त शुल्कबिनै उच्चस्तरीय सेवा अनुभव गर्न सक्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार नयाँ सेवा केन्द्रहरूमा दक्ष तथा प्रशिक्षित मेकानिक्समार्फत सेवा प्रदान गरिनेछ । साथै, शोरुम, सर्भिस र जेन्युन पार्ट्स एकै स्थानमा उपलब्ध हुने थ्रीएस (3S) सुविधा विस्तार गरिएको छ ।

त्यस्तै, अत्याधुनिक डायग्नोस्टिक उपकरण, डिजिटल सर्भिस ट्र्याकिङ प्रणाली, फास्ट सर्भिस बे, जेन्युन स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता तथा आरामदायी कस्टमर वेटिङ लाउन्जको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सेवा लिन आउने ग्राहकहरूका लागि निःशुल्क कोल्ड ड्रिंक्स र कफीको सुविधा समेत उपलब्ध गराइने बताइएको छ ।

कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप सेवा केन्द्र विस्तार गर्दै होण्डा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित : 14 May, 2026 1:21 pm