सामाजिक सुरक्षा कोषको नयाँ योजना: श्रमिकले ६% ब्याजमा १.५ करोडसम्म घडेरी कर्जा पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामाजिक सुरक्षा कोषको नयाँ योजना: श्रमिकले ६% ब्याजमा १.५ करोडसम्म घडेरी कर्जा पाउने



काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले अब घडेरी खरिद गर्न १ करोड ५० लाख रूपैयाँसम्म ऋण पाउने भएका छन्। कोषले पहिलोपटक श्रमिक लक्षित घडेरी कर्जा योजना अघि सारेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजमी यादव ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त कर्जाबारे जानकारी दिएका हुन्। उनका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले ६ प्रतिशत ब्याजदरमा अधिकतम १ करोड ५० लाख रूपैयाँसम्म घडेरी कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।

कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कोषले यसअघि घर कर्जा, घर निर्माण कर्जा तथा शैक्षिक कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ। अब घडेरी खरिदका लागि पनि कर्जा सुविधा विस्तार गरिएको उनले बताए।

उनका अनुसार श्रमिकले कोषमा गरेको योगदानका आधारमा अधिकतम १ करोड ५० लाख रूपैयाँसम्म ६ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन्। यसका लागि कोषमा कम्तीमा १८ महिना नियमित रूपमा आबद्ध भई मासिक योगदान गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। श्रमिकले गरेको योगदानकै आधारमा कर्जाको सीमा निर्धारण गरिने कोषले जनाएको छ।

प्रकाशित : 1 May, 2026 3:29 pm