काठमाडौं । स्नो रिभर्स लिमिटेड ले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर बिक्रीमा ल्याउनेछ, जसको कुल मूल्य ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको छ। यसअघि कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि शेयर छुट्याइसकेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म खुला रहनेछ।
आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ। निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।






Comment