मुगु । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा जुम्ला, कालिकोट र मुगु गरी तीन जिल्लाबाट २५ करोडभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ ।
कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार साउनदेखि चैतसम्मको अवधिमा २९ करोड ३० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा २५ करोड २८ लाख ८ हजार रुपैयाँ अर्थात् ८४ दशमलव ४० प्रतिशत राजस्व संकलन भएको छ ।
आयकरतर्फ २१ करोड ७३ लाख ९९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा १८ करोड १८ लाख ५७ हजार रुपैयाँ अर्थात् ८३ दशमलव ६५ प्रतिशत राजस्व संकलन भएको छ । त्यस्तै, भ्याटतर्फ ५ करोड ४० लाख २७ हजार लक्ष्य राखिएकोमा ५ करोड ३२ लाख ३९ हजार रुपैयाँ अर्थात् ९८ दशमलव ५४ प्रतिशत संकलन भएको छ ।
यसैगरी अन्तःशुल्कतर्फ १ करोड ३७ लाख ३ हजार लक्ष्यमध्ये ७७ लाख ८७ हजार रुपैयाँ अर्थात् ७५ दशमलव ०७ प्रतिशत राजस्व संकलन भएको छ भने बहालकरतर्फ ८० लाख ११ हजार लक्ष्यमा ५२ लाख ८९ हजार रुपैयाँ अर्थात् ६६ दशमलव ४० प्रतिशत संकलन भएको कार्यालयले जनाएको छ ।
राजस्व संकलन वृद्धि गर्न कार्यालयले करदातालाई सक्रिय बनाउन विभिन्न अभियान सञ्चालन गरेको छ । कर दाखिला नगर्ने करदाताको घरमै पुग्ने, टेलिफोन तथा एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी जानकारी दिने जस्ता गतिविधि सञ्चालन गरिएको प्रमुख कर अधिकृत घिमिरेले बताए । उनका अनुसार लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिइने तथा करदातामुखी कर शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । बक्यौता कर असुली, नक्कली बिल बिजक नियन्त्रण, कर परीक्षण तथा अनुसन्धानको दायरा विस्तार गर्नेतर्फ पनि कार्यालयले ध्यान केन्द्रित गरेको छ ।
कार्यालयका अनुसार आयकरतर्फ १६ हजार ९२२ जना, भ्याटमा १ हजार ७१७ जना र अन्तःशुल्कमा ५८२ जना करदाता दर्ता भएका छन् । व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) स्थानीय तहबाटै जारी गर्ने व्यवस्था भए पनि कार्यान्वयनमा भने ढिलाइ भइरहेको कार्यालयले जनाएको छ ।






Comment