काठमाडौं । सेवा निवृत्त कर्मचारीहरूलाई प्रदान गरिने पेन्सन सेवालाई थप प्रभावकारी, सरल र डिजिटलमैत्री बनाइएको छ। सरकारले ‘पेन्सन व्यवस्थापन सूचना प्रणाली’ (Pension Management Information System) औपचारिक रूपमा शुभारम्भ गर्दै अब घरमै बसेर पेन्सनसम्बन्धी सेवा लिन सकिने व्यवस्था गरेको हो।
शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणालीको उद्घाटन गर्नुभयो। महालेखा नियन्त्रक कार्यालय तथा मातहतका निकायबाट प्रदान गरिँदै आएका सेवाहरूलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो प्रणाली विकास गरिएको हो।
नयाँ प्रणालीमार्फत सेवा निवृत्त कर्मचारीहरू—निजामती, शिक्षक, नेपाली सेना तथा प्रहरीले—अब अनलाइन माध्यमबाटै पेन्सनसम्बन्धी सम्पूर्ण सेवा लिन सक्ने भएका छन्। सेवाग्राहीले निवृत्तभरण व्यवस्थापन कार्यालयको वेबसाइटमा गई ‘हाम्रो सेवाहरू’ अन्तर्गत रहेको सम्बन्धित विकल्पमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
सेवाग्राहीको सहजताका लागि प्रणालीमै ‘भिडियो ट्युटोरियल’ पनि उपलब्ध गराइएको छ, जसले प्रयोगकर्तालाई प्रक्रिया बुझ्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
यस प्रणाली कार्यान्वयनसँगै अब पेन्सन लिइरहेका कर्मचारीहरूले हरेक वर्ष बैंकमा उपस्थित भई प्रमाणीकरण गराउनुपर्ने बाध्यता हटेको छ। साथै, पेन्सन खाता खोल्नका लागि कार्यालय धाउनुपर्ने झन्झट पनि अन्त्य भएको छ।
सरकारले यो प्रणालीमार्फत सेवा निवृत्त कर्मचारीहरूलाई थप सहज, मितव्ययी र प्रभावकारी सेवा प्रदान हुने अपेक्षा गरेको छ।






Comment