सामुदायिक रेडियो कर्णाली आवाजको स्टेसनमा आक्रमण, स्थानीय शिक्षकहरु समेत संलग्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामुदायिक रेडियो कर्णाली आवाजको स्टेसनमा आक्रमण, स्थानीय शिक्षकहरु समेत संलग्न



काठमाडौं २८ जेठ । हुम्ला जिल्लाको सिमिकोटमा सञ्चालित सामुदायिक रेडियो कर्णाली आवाजको स्टेसनमा जेठ २५ गते राती १० बजे गरिएको आक्रमण र तोडफोड प्रति सामुदायिक रेडियो प्रसारक संघले घोर भत्र्सना गरेको छ । संघका अध्यक्ष सुवास खतिवडोले शनिवार विज्ञप्ति प्रकाशन गर्दै विगत ६ वर्षदेखि हुम्ला र आसपासका क्षेत्रका समुदायलाई सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रताको निम्ति सञ्चालित सामुदायिक रेडियो माथि बर्वरतापूर्ण आक्रमण गर्ने  दोषिलाई अविलम्ब कानुनी कारवाहीका लागि सरकार समक्ष जोडदार माग गरेका छन् ।

मानसरोवर माध्यमिक विद्यालयका शिक्षकहरु अमरबहादुर शाही, रेशमराज रोकाया, पाल्जोर लामा, नेत्रबहादुर शाही एवं नर बोहोरा लगाएतको टोली रातको १० बजे एक्कासी रेडियोमा प्रवेश गरी तथानाम गाली गलौज गर्दै प्राविधिक प्रमुख अर्जुन बोहोरालाई आक्रमण गरेका थिए । फलामको हेण्डलले टाउकोमा हिर्काएपछि बोहोरा घाइते भएका छन् । घट्नामा भएको तोडफोडबाट समाचार कक्षमा भएको डेक्टप कम्प्युटर १ थान, प्रीन्टर र फोटोकपी १ थान, ल्यापटप १ थान, टेलिफोन १ थान क्षति पुगेको छ ।

शिक्षकजस्तो मर्यादित र संवेदशील पेशामा रहेकाहरुबाट नागरिकलाई अत्यावश्यक सूचना र जानकारी प्रदान गर्ने रेडियोमा प्रवेशगरि कल्पना समेत गर्न नसकिने हर्कत गरेकोमा सामुदायिक रेडियो प्रशारक संघले दुःख व्यक्त गरेको छ । घाइतेको तत्काल उपचार, रेडियोमा भएको भौतिक क्षतीको शोधभर्ना गराउन सरोकारवाला, नेपाल सरकार र सम्बन्धित निकायसँग संघले माग गरेको छ ।

प्रकाशित : 11 June, 2017 6:35 am