मकवानपुर । शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत १८ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुण्डागर्दी, अवाञ्छित गतिविधि तथा सर्वसाधारणलाई त्रसित बनाउने कार्यमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा लक्षित रूपमा गरिएको अपरेशनका क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा स्थानीय युवादेखि मध्यम उमेर समूहसम्मका व्यक्ति रहेका छन् । उनीहरू केही समयदेखि सार्वजनिक स्थलमा झै–झगडा गर्ने, धम्की दिने, लागूऔषध कारोबार तथा सेवनमा संलग्न हुने जस्ता गतिविधिमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार अभियान अन्तर्गत प्रहरी टोलीले सूचनाको आधारमा निगरानी बढाउँदै छापा मार्ने, शंकास्पद व्यक्तिको पहिचान गर्ने तथा समुदायसँग सहकार्य गर्दै अपरेशन अघि बढाएको हो।
‘समूदायमा त्रास फैलाउने तथा शान्ति सुरक्षामा खलल पु¥याउने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइनेछ,’ उनले भने, ‘यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी अझ सक्रिय रूपमा परिचालन हुनेछ ।’ प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।
केहीमाथि सार्वजनिक अपराध तथा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ भने अन्यको हकमा सोधपुछपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ । अभियानका क्रममा प्रहरीले हेटौंडाका विभिन्न स्थानमा नियमित गस्तीसमेत तीव्र पारेको छ। विशेषगरी रातिको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न मोटरसाइकल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन तथा सिसिटिभी निगरानीलाई प्रभावकारी बनाइएको जनाइएको छ ।
प्रहरीले स्थानीय बासिन्दासँग समन्वय गर्दै शंकास्पद गतिविधिबारे तुरुन्त जानकारी गराउनसमेत आग्रह गरेको छ । ‘समुदायको सहयोगबिना शान्ति सुरक्षा कायम गर्न कठिन हुन्छ,’ डीएसपी बोगटीले भने,‘हामी नागरिकसँग सहकार्य गरेर सुरक्षित वातावरण निर्माण गर्न प्रतिबद्ध छौं ।’ जिल्ला प्रहरी कार्यालयले ‘अपरेशन ड्रप’ जस्ता अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी बनाउने जनाएको छ । प्रहरीको यो सक्रियतापछि स्थानीय बासिन्दामा सुरक्षाको अनुभूति बढेको प्रतिक्रिया समेत आउन थालेको छ ।






Comment