कालिञ्चोक साकोसद्वारा हिलेपानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कालिञ्चोक साकोसद्वारा हिलेपानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



दोलखा । दोलखाको सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

‘उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने नारासहित आयोजना गरिएको उक्त शिविर कालिञ्चोक गाउँपालिका वडा नं. ४ हिलेपानीमा रहेको हिलेपानी संस्कृत माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।

ग्रामीण क्षेत्रमा वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले संस्थाले शिविर आयोजना गरेको जनाएको छ। सहकारीले आफ्ना शेयर सदस्य, बालबचतकर्ता तथा सम्भावित सदस्यहरूको स्वास्थ्य अवस्थाबारे सचेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रम गरेको हो।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षता तथा वडा नं. ४ का वडाध्यक्ष दीपक खुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। शिविर सञ्चालनमा पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटको प्राविधिक सहयोग रहेको थियो भने स्थानीय स्वास्थ्य चौकी र विद्यालयले पनि सहकार्य गरेका थिए।

शिविरमा स्त्रीरोग, बालरोग, दन्त परीक्षण, मधुमेह (सुगर) तथा रक्तचाप (प्रेसर) जाँचसहित विशेषज्ञ सेवा प्रदान गरिएको थियो। बिहान ९:३० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भएको शिविरमा कुल १७९ जनाले सेवा लिएका थिए।

जसमध्ये ३० जनाले स्त्रीरोग, २८ जनाले दन्तसम्बन्धी तथा १२१ जनाले अन्य विभिन्न स्वास्थ्य परीक्षण सेवा लिएका थिए। सेवाग्राहीहरूलाई आवश्यकताअनुसार निःशुल्क औषधि समेत वितरण गरिएको संस्थाले जनाएको छ।

सहकारीको सातौँ सिद्धान्त ‘समुदायप्रति चासो’ लाई व्यवहारमा उतार्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने संस्थाले जनाएको छ।

प्रकाशित : 5 April, 2026 4:33 pm