काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले नेपालमा सहकारी अभियान विश्वको मूल्य, मान्यता र सिद्धान्त अनुसार चलिरहेको दाबी गरेका छन् । सहकारी अभियान विश्वको दिशामा एवम उद्देश्यका साथै दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुसार चलेको नेपालको सहकारी अभियान पनि त्यही किसिमले चलेको बताएका हुन् ।
संवादका क्रममा उनले सहकारी क्षेत्र संकटमोचनका निमित्त होइन संकट निम्त्याउनका निमित्त होकी भन्ने जुन खालको भाष्य थियो त्यसको पनि अन्त्य भइसकेको बताए । ‘केही सस्था र व्यक्तिहरुले सहकारीको नामबाट पैसा संकलन गर्ने र अपचलन गर्ने काम गरे । सिद्धान्त र मर्यादा विर्सिए । त्यस्ता अपराधिक क्रियाकलापहरुले अरु संस्थाहरुमा पनि नकरात्मक प्रभाव पर्यो । केही व्यक्तिले कर्जा लिएर फिर्ता गर्नु हँुदैन भन्ने खालका हल्ला फिजाएर अभियानको बदनाम गर्न खोजेका छन् । त्यस्ता क्रियाकलाप पनि अन्त्य हुनुपर्छ,’ उनले भने ।
कावा अध्यक्ष पोखरेलले सहकारी अभियान आफ्नो दर्शन, मूल्य मान्यता र सिद्धान्त अनुसार अगाडि बढ्दैगर्दा पैसा फिर्ता नगरेर संकट निम्ताउने परिपाटीको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे । लगानी गरेको पैसा फिर्ता नहुँदा सहकारीमा संकट आएकाले सरकारले अनुगमनका लागि छुट्टै संयन्त्र निर्माण गरेर त्यसको न्यूनीकरणमा काम गरिरहेको उनले जनाए ।
‘विगतको तथ्यांकलाई हेर्दा संकटग्रस्त सहकारी व्यवस्थापन समितिले क्रमश काम गर्दैछ । अहिलेसम्म करिब ८० हजार जति निवेदनहरु परेका थिए । त्यसभित्र अहिले भएको संकलित पुँजीलाई वितरण गर्ने हो भने करिब ५० प्रतिशत ४० हजार फरफारक गराउन सक्छौं । उनीहरुलाई वितरण गर्न सक्छौं भनेर नै अहिले तथ्यांक आइराखेको छ । मेरो भनाइ के हो भने सबै आफ्ना सदस्यहरुले आफूले जम्मा गरेको पैसा पाउनुपर्छ,’ उनले भने ।
बचतकर्ताको रकम फिर्ता ल्याउन नयाँ सरकारले केही कार्यक्रम ल्याउने घोषणा गरेको पनि उनले उल्लेख गरे ।
उनले भने, ‘सरकारले केही कदम चालेको छ । पहिले २३ वटा संस्थाहरु संकटग्रस्त घोषणा गरिएको थियो । त्यसमध्येमा तीनवटा संस्थाहरुको चाहीं फरफारक भएको जानकारी पाएको छौँ । र क्रमश भुक्तानी गर्दै गएको स्थिति पनि छ । र अभियानले त्यसलाई लबिङ गरिरहेको छ । समन्वय गर्ने काम गरिरहेको छ । सबै वचतकर्ताले बचत फिर्ता पाउनुपर्छ भनेर नै काम गरिरहेका छौं ।’
वर्तमान सरकारले यसलाई पूरा गर्नेगरी सय दिन भित्रमै साना बचतकर्ताहरुको खासगरी एक लाख भन्दा मुनिका बचतकर्ताहरुको रकम फिर्ता गर्ने तयारी गरेको थियो र हाल ५ लाख सम्मकोबचत फिर्ता गर्ने विषय अगाडि आएको उनले सुनाए । यस्ता कामका लागि अभियानले पूर्ण रुपमा साथ दिने बताए ।
‘संकटमा गएका संस्थाहरुको राज्यले भुक्तानी गरेर साध्य पनि हुँदैन । सम्भव छैन र क्षति गरेकाहरुको सम्पत्ति रोक्का गर्ने, सम्पत्तिबाट असुल गर्नेलगायतका कामहरु अघि बढाएकाले त्यसमा सहयोग गर्न अभियान तयार छ । तत्काल अचल सम्पत्तिलाई तरल बनाउनका निमित्त राज्यले एउटा फण्ड एउटा बजेट दिनुपर्छ । त्यो बजेटलाई क्रमश फरफारक गर्ने, अचल सम्पत्तिलाई फेरि तरल बनाउने, बिक्री गर्ने लगायतको कामहरु गर्नुपर्छ । राज्यले ल्याएको काम एकदमै प्रशंसनीय पनि छ । यसले सहकारी क्षेत्रमा उर्जा थपेको छ । अभियानका तर्फबाट राष्ट्रिय सहकारी महासंघले पूर्ण सहयोग गर्छ,’ उनले भने ।
सहकारी भन्ने बित्तिकै सहकारी आन्दोलनलाई बुझिन्छ र सहकारीले आम समाज वा मानव जीवनमा आवश्यक पर्ने सबै वस्तुसँग वा वर्गसँग जोडिएको अभियानको रुपमा सहकारीलाई लिने गरेको जानकारी दिए ।
यस पटक मान्छे जन्मिदादेखि मर्दासम्मको साथी सहकारी भन्ने स्लोगन रहेको उल्लेख गर्दै उनले विकृतिका र समस्याविरुद्ध सडकमा नजाने वातावरण तत्काल बनाउनु पर्ने बताए । सडकमा धेरै संस्थाहरु आन्दोलनका रुपमा जानु नपर्ने वातावरण बनाउनका निमित्त सरकारले साना बचतकर्ताहरुको भुक्तानी गर्ने कुराहरुदेखि लिएर अन्य सेटलमेन्टका विषयहरुमा अगाडि बढायो भने आन्दोलन रोकिने उनले बताए ।
‘सडकमा धेरै संस्थाहरुलाई आन्दोलनका रुपमा नजानुपर्ने वातावरण बनाउनका निमित्त सरकारले सानो बचतकर्ताहरुको भुक्तानी गर्नेदेखि लिएर अन्य सेटलमेन्टका विषयहरु अगाडि बढ्यो भने आन्दोलन रोकिन्छ,’ उनले भने । उनले प्रत्येक मान्छे र समाजका आवश्यकताहरु दिन प्रतिदिन नयाँ–नयाँ हुँदै जाने भएकाले यसलाई पूरा गर्दै जानुपर्ने बताए । उनका अनुसार राजनीतिक दलहरुले पनि आन्दोलनका रुपमा कहिल्यै पनि जानु नपरोस् । मेलमिलाप, शान्ति, अनि एकता कायम रहोस साथै प्रगति, उन्नति, विकाससँग जोडियोस भन्ने रहेको उनले बताए ।
कुराकानीका क्रममा राष्ट्रिय सहकारी महासंघको अध्यक्षबाट ओमदेवी मल्लले राजीनामा आधिकारिक रुपमा स्वीकृती गर्ने र कार्यवाहक अध्यक्षको जिम्मेवारी आफुलाई प्रदान गरिएको जानकारी गराए ।
उनले भने, ‘राष्ट्रिय सहकारी महासंघको अध्यक्ष आदरणीय ओमदेवी मल्लज्यू राजीनामा आधिकारिक रुपमा हस्ताक्षर गरेर दिनुभएको छ । उहाँले कार्यकाल छ महिना पुग्नुभन्दा अगाडि राजीनामा दिनु भएको हो । उहाँ स्वास्थ्य र पारिवारिक भेटघाटका कारण आज भन्दा करिब सात महिना अगाडि अमेरिका जानुभएको हो ।’
ओमदेवीको अहिलेसम्मको योगदानको उच्च मूल्यांकन गर्दै संचालक समितिले त्यसलाई इन्डोर्स गर्ने काम उल्लेख गरेर र राजीनामालाई साधारण सभामाबाट स्वीकृत गर्ने उनले बताए ।
उनले सहकारी क्षेत्रका समस्याहरुलाई समाधान गर्नुपर्ने जिम्मेवारी सबै अभियानकर्ताहरुको रहेकाले त्यसलाई पनि हामीले म–म गर्नुपर्ने उल्लेख गर्दै आवश्यक मात्रामा सदस्यहरुको चाहना एवम आवश्यकतालाई पूरा गर्ने गरी कार्ययोजनाहरु बनाउनुपर्ने धारणा राखे ।
‘मुख्यगरी सरकारले अन्तरसम्बन्धित ऐनहरु, सहकारी ऐनमा भएका सबै प्रावधानहरु कार्यान्वयन गराउनका निमित्त करिब ४६ वटा ऐनहरु बाधक छन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ ले सहकारी आफैंले उद्योग व्यवसाय गर्न सक्ने प्रावधान छ । तर हरेक ठाउँमा रोक लागिरहेको छ । उद्योग खोल्न गयौं भने उद्योग ऐनले रोक्ने, कम्पनी ऐनहरुले रोकिरहेको छ । त्यसलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ,’ पोखरेलले भने ।
हाल पुँजी परिचालनका निमित्त ठूलो उपलब्धी हाँसिल गरेको उल्लेख गर्दै उनले वित्तीय साक्षरताको हिसाबले महत्वपूर्ण उपलब्धी हासिल गरेको उनले बताए ।
करिब ३२ हजार सहकारी संघ संस्थामा ५६ प्रतिशत महिला सदस्य रहेको जानकारी दिंदै उनले यस्तो प्रगतिहरुलाई दीर्घकालीन रुपमा अगाडि बढाउनका निमित्त र दिगो विकासका लक्ष्यलाई परिपूर्ति सहकारी अभियान एउटा कोसेढुंगा हो भनेर विश्वले स्वीकार गरेको जनाए ।
६९औं राष्ट्रिय सहकारी दिवस प्रत्येक चैत्र २० गते मनाउँदै आएको उनले बताए । चैत्र २० गते संस्थागत रुपमा आधुनिक सहकारी अभियानको सुरुवात भएको उनले बताए ।






Comment