नेपालको आर्थिक रुपान्तरण हासिल गर्न लघु घरेलु तथा साना उद्योगको विकासमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपालको आर्थिक रुपान्तरण हासिल गर्न लघु घरेलु तथा साना उद्योगको विकासमा जोड



काठमाडौ २६ जेठ । नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको राजधानीमा आयोजित २८ औं वार्षिकोत्सव समारोहमा उनीहरुले संख्यात्मक हिसाबले पनि कम हँुदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्तभनेको नीतिगत स्पष्टता भएकोमा जोड दिएका छन् ।

नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमितरुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने बताउनुभयो ।

लघु घरेलु तथा साना उद्योगको विकास मार्फत नेपालको आर्थिक रुपान्तरण हासिल गर्न सकिने भन्दै उहाँले नेपालमा यस्ता उद्योगहरूलाई प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी, पुस्ता हस्तान्तरण र युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुका विभिन्न किसिमका प्रविधि तथा उपकरणहरुको आविष्कार,  खोज, अनुसन्धान र आविष्कारहरुलाई उद्योग विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मुलुकभर रहेका लघु घरेलु तथा साना उद्योगीहरुको छाता संगठन महासंघ यस्ता उद्योगहरुको हक र हितको संरक्षण र सम्बद्र्धन गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धन मार्फत मुलुकलाई औद्योकिरणतर्फ उन्मूख गराउनेउद्देश्यका साथ २०४७ सालमा स्थापना भई मुलुकभर सञ्जाल विस्तार गरिसकेको उहाँले बताउनुभयो ।

यसका अलावा ५८ जिल्लामा जिल्ला महिला उद्यमी समितिको विस्तार भई ११ हजारभन्दा बढी महिला उद्यमीहरु सदस्य रहेको केन्द्रीय महिला उद्यमी समिति पनि महासंघमा क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो ।झण्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको यस महासंघ अन्तर्गत २० वटा वस्तुगत संघहरु संस्थागत सदस्यको रुपमा महासंघमा आबद्ध छन् । विभिन्न उद्योग प्रतिष्ठानहरु यस महासंघका एसोसियट र सहकारी मार्फतसंचालित उद्योगहरु महासंघ अन्तरगत सदस्य रहेका छन् । औद्योगिक नीति २०६७ ले लघु, घरेलु तथा साना उद्यमीहरुको छांता संस्थाको रुपमा स्वीकार गरेको  महासंघले लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार र प्रबद्र्धनका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आईरहेको अध्यक्ष गिरीले बताउनुभयो ।

लघु, घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तुहरु गुणस्तरीय र निर्यातयोग्य हुँदाहुँदै पनि सूचना र बजार पहिचानको अभावमा निर्यात हुन नसकिरहेकोले गुणस्तरीय बस्तुहरुको निर्यात बृद्धि गर्न सार्वजनिक नीजिसाझेदारी अवधारणा अनुरुप राष्ट्रियस्तरको एउटा निर्यात गृहको स्थापनाका लागि  सरकारले आवश्यक स्थान तथा बजेटको व्यवस्था गरिदिनुपर्ने उहाँको भनाई थियो ।

रुग्ण लघु, घरेलु तथा साना उद्योग क्षेत्रको उत्थान गर्नस्पष्ट कार्यविधि र संरचनागत व्यवस्थाका साथ रुग्ण उद्योग पुर्नस्थापना कार्यक्रम कार्यान्वयनमा ल्याइनुपर्ने अध्यक्ष गिरीले बताउनुभयो । देशका कुना कुनामा छरिएररहेका र सानो पूँजीबाट सञ्चालन हुने लघु, घरेलु तथा साना उद्योगले आफ्नै लगानीमा महँगा विज्ञापन गर्न नसक्ने तथ्यलाई हृदयंगम गरि महासंघले जिल्लास्तरीय, क्षेत्रीयस्तर र केन्द्रस्तरका औद्योगिक प्रदर्शनीहरु गर्दैआएको जानकारी दिंदै उहाँले विभिन्न निकायहरुको सहयोगमा दुर्गम भेगका उद्यमीहरुलाई खर्च समेत उपलब्ध गराई औद्योगिक प्रदर्शनीहरुमा महासंघले सहभागी गराउँदै उनीहरुबाट उत्पादित वस्तुहरुको सामूहिक प्रचार प्रसार गराउने कार्य गर्दै आएको बताउनुभयो ।

महासंघ सल्लाहकार समितिका सभापति वासुदेव गिरीले लघु घरेलु तथा साना उद्येगहरुको विकासको पहिलो पाटो भनेको लगानी भएको भन्दै वित्तीय संघ संस्था, लघु वित्त, सरकारी आदि जस्ता वित्तीय कारोबार गर्ने संघसंस्था धेरै छन तर तिनीहरूको ध्यान यस्ता उद्योगहरूमा जान नसकेको गुनासो गर्नुभयो ।

राष्ट्रको स्पष्ट लगानी नीति नहुनु, राजनीतिक दलहरूको आर्थिक सम्बद्धिका लागि लगानीको स्पष्ट खाका नहुनु विडम्बना भएको भन्दै उहाँले भन्नुभयो –‘जबसम्म समग्र मुलुकको आर्थिक क्षेत्रलाई अभिबृद्धि गर्ने सवालमा सबैराजनीतिक दल एवम सरोकावालाको साझा राष्ट्रको औद्योगिक नीति, लगानी नीति बन्दैन तब सम्म आर्थिक रुपान्तरण भन्ने कुरा कुरामै सीमित रहन्छ ।’

कृषिजन्य उद्योगको विकास हुन नसक्दा भारतबाट ल्याइएको चामल प्याकिङ गरेर खाइरहेको अवस्था रहेका भन्दै उहाँले हजारौं लघु तथा साना उद्योगहरू अहिले बन्द भएको बताउनुभयो ।

बिहीबारदेखि २७ वर्ष पूरा गरी २८ औं वर्षमा प्रवेश गरेको महासंघले वार्षिकोत्सवकै अवसरमा ‘उत्पादनमूलक लघु, घरेलु तथा साना उद्योग सम्बन्धी नियामक व्यवस्था र नीतिगत सुधारका आवश्यकताहरु’ विषयक अन्तरक्रियाकार्यक्रम पनि आयोजना गरेको थियो ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ०५:३७