काठमाडौं २५ जेठ ।वित्तीय क्षेत्रको समष्टिगत नीतिको अनुगमन र नियमन बारेमा छलफल गर्न राजधानीमा विहिबारदेखि सार्कस्तरीय सम्मेलन सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकको आयोजनामा भएको दुई दिने सम्मेलनमा विशेष गरेर सार्क मुलुकमा वित्तिय क्षेत्रको समष्टिगत नीति नियमन तथा अनुगमनको अवस्था, मोडल तथा समस्या र चुनौतिका विषयमा छलफल हुनेछ ।
सम्मेलनको विहिबार राजधानीमा उद्घाटन गर्दै नेपाल राष्ट्र बैकका गभर्नर चिरञ्जिवी नेपालले सार्क फाइनान्समा रहेका देशका प्रतिनिधिबीच वित्तिय क्षेत्रको स्थायित्वका लागि आ आफ्नो मुलुकमा अबलम्बन गरिएको समष्टिगत निति नियमन तथा अनुगमनमा हासिल अनुभव साटासाटले यसका चुनौती स्पष्ट पार्दै थप मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।
सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक संकटपछि समग्र वित्तिय क्षेत्रको व्यवस्थापनका लागि सरकारी वित्त नीति र मौद्रिक नीतिले मात्रै संभव नभएको निष्कर्षका साथ समष्टिगत नीति अवलम्बन गरिँदै आइएको छ ।
शुक्रबार सम्म चल्ने सम्मेलनमा बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, भारत र नेपालका गरि ३० जनाको सहभागीता रहेको छ ।
Comment