अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस : अर्थमन्त्री वाग्ले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस : अर्थमन्त्री वाग्ले

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता जनाएका हुन् ।

आफ्नो कार्यकालमा सुशासनलाई मुख्य प्राथमिकता दिने बताउँदै डा.वाग्लेले भने, ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’ उनले निजी क्षेत्रलाई अब कुनैपनि बहानामा दुःख नदिइने स्पष्ट पारे ।

व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको व्यावसायिक कसुरमा थुन्न नहुने मागलाई सम्बोधन गर्दै अर्थमन्त्रीले अब आर्थिक बेइमानीका सवालमा सरकार आर्थिक जरिवानाको नीतिमा जाने बताए । अब उद्योगी व्यापारीहरू सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु पर्दैन, हामी दण्डको स्वरूप बदल्छौँ,‘उनले भने ।

अर्थमन्त्रीले उद्योगीहरूलाई लगानी र रोजगारी बढाएर देश निर्माणमा केन्द्रित हुन आग्रह गरे । सरकारले निजी क्षेत्रलाई साथी र सहयात्री मानिरहँदा निजी क्षेत्रबाट पनि उत्तिकै इमानदारिताको अपेक्षा गरिएको उनले बताए ।

‘राज्य साथी बन्दा निजी क्षेत्रले पनि बेइमानी गर्दैन भन्ने हाम्रो विश्वास छ,’ मन्त्री वाग्लेले चेतावनी दिँदै भने, ‘तर कसैले नियतवश वा नियोजित रूपमा बेइमानी गर्छ भने त्यस्ताका विरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुनेछ ।’ भेटघाटका क्रममा उद्योगीहरूले विद्यमान आर्थिक मन्दी र नीतिगत अस्पष्टता हटाउन माग गरेका थिए भने मन्त्री वाग्लेले अर्थतन्त्रमा सुधारको नयाँ युग सुरु हुने आश्वासन दिएका थिए ।

प्रकाशित : १६ चैत्र २०८२, सोमबार १५:०२ 30 March, 2026 3:02 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।