अन्तिम कारोबार दिन नेप्सेमा उछाल, १३ अर्बभन्दा बढीको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अन्तिम कारोबार दिन नेप्सेमा उछाल, १३ अर्बभन्दा बढीको कारोबार



काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दै १४.२१ अङ्कले उकालो लागेर २९५०.१६ विन्दुमा पुगेको छ। दिनभर उतारचढाव देखिए पनि बजार अन्त्यमा सकारात्मक दिशामा बन्द भएको हो।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने कार्यक्रम रहेकाले उक्त दिन सेयर बजार बन्द रहनेछ। त्यसैले सरकार गठनअघिको अन्तिम कारोबार बिहीबार नै भएको हो भने अब बजार आइतबार मात्र खुल्नेछ।

आज कुल ३४३ कम्पनीका ३ करोड ४ लाख कित्ता सेयर १ लाख ४२ हजार ७३४ पटक किनबेच हुँदा १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता देखाएको छ।

कारोबार भएका कम्पनीहरूमध्ये १७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको मूल्य स्थिर रहँदा विकास बैंक, जीवन बीमा र ट्रेडिङ समूहका सूचकमा गिरावट आएको छ। म्युचुअल फण्ड सूचक स्थिर रहँदा अन्य सबै समूहमा सुधार देखिएको छ।

आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको मूल्य १० प्रतिशतले बढेको छ भने सोलु र भुजुङ हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ। यता, पञ्चकन्या माई हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फास्ट्रक्चर शीर्ष स्थानमा रह्यो, जसको ९४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि एसवाई प्यानल (७१ करोड ९२ लाख) र नेशनल हाइड्रोपावर (४६ करोड ३२ लाख) रहेका छन्।

प्रकाशित : 26 March, 2026 3:33 pm